छोटो दूरीका सवारीसाधनका लागि पिक एण्ड ड्रप लागू हुने

|

काठमाडौं : लामोसमय समयसम्म विवादित बनेको खुलामञ्चमा रहेको बसपार्क हट्ने भएको छ। काठमाडौं महानगरपालिकाले वैशाख १५ गतेदेखि बसपार्क हटाउने निर्णय गरेको छ।

बिहीबार महानगरको प्रमुख प्रशासकिय अधिकृतको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा महानगरपालिका,यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच खुला मञ्चबाट बसपार्क हटाउने सहमति भएको हो।

खुल्ला मञ्च खाली गराई त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुलामञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ।

बसपार्कबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ। ज्ञवालीले भने, ‘टिकट काउन्टर राखी सञ्चालनमा आएका मध्यम दूरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन्। यस्तै छोटो दूरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन्।'

पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरूका सन्दर्भमा सार्वजनिक सूचना जारी गरी जानकारी दिने उनले बताए। यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्ने उनको भनाइ छ।

महानगरपालिकाले १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउने छ।

महानगरले यस प्रयोजनका लागि धेरै पटक, सरोकारवालासँग छलफल गरिसकेको छ। सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले भन्छन, 'हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरूलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ।'

बैठकमा यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषाल, ट्राफिक प्रहरी महाशाखाबाट सुनिलजङ्ग शाह, नगर प्रहरी उपरीक्षक धनपति सापकोटासहित अधिकारीहरूको सहभागी थियो।

पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं टावर निर्माण हुने भएपछि केही समयका लागि त्यस ठाउँबाट चल्ने सार्वजनिक सवारी साधनलाई खुला मञ्चमा ल्याइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.