ओखलढुंगा : पूर्व-राष्ट्रपति रामवरण यादव आज (शुक्रबार) ओखलढुंगा आउँदै छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित भगवती मावि मानेभञ्याङ्गको हिरक जयन्तीको अवसरमा पूर्व-राष्ट्रपति यादव ओखलढुंगा आउन लागेका हुन् ।
गत हप्तादेखि विद्यालयले आफ्नो स्थापना दिवस ६० वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरूका साथ मनाइरहेको छ। हिरक महोत्सव मनाउने क्रममा बिहीबार प्रदेश नं. १ का पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सम्बोधन गरेका थिए ।
गत वैशाख ६ गते बसेको मन्त्रिपरिषद् निर्णयको परिपत्रअनुसार ओखलढुंगामा पनि बुधबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले जिल्लामा होटल, पसल तथा कामको सिलसिलामा आवतजावत गर्नेहरुको लागि मास्क प्रयोगमा अनिवार्य गरेको छ।
त्यस्तै, कुनै पनि कार्यक्रम, भेला, सम्मेलन, गोष्ठी गर्दा २५ जना भन्दा माथिको सहभागिता नगर्ने निर्णय गरेको थियो ।
DCCMC का पदाधिकारीहरू आफैँले गरेको निर्णयलाई आफैँले लत्याउँदै मानेभञ्ज्याङमा भने विशिष्ट पाहुनाहरुको उपस्थितिमा ठूलो कार्यक्रम गर्न लागेको हो।
जिल्ला सदरमुकाममा भने जिल्ला प्रहरीको सहयोगमा सिद्धिचरण नगर प्रहरीले चोक चोकमा बसी मास्क नलगाई हिँड्नेलाई मास्क अनिवार्य लगाउन सचेत गराएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।