प्राधिकरण भन्छ, ‘मौसममा आएको खराबीका कारण हो’

|

गोरखा : गोरखालाई लोडसेडिङमुक्त घोषणा गरिएको चार वर्ष बित्यो। तर, व्यवहारमा त्यो महसुस गर्न गोरखाबासीले अझै पाएका छैनन्। अहिले पनि दिनहुँ बत्ती झ्याप्प झ्याप्प जाने गर्दा लोडसेडिङमुक्त क्षेत्रले गिज्याइरहेजस्तो लाग्छ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, गोरखाले गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरे पनि गोरखाबासीले पछिल्लो समय दैनिक लोडसेडिङको मार खेप्ने गरेका छन्। 

गोरखा लोडसेडिङमुक्त क्षेत्र भनेर घोषणा भए पनि प्राधिकरणले बिनासूचना पटक पटक दिनकै विद्युत् आपूर्ति बन्द गर्दा गोरखाबासीले सास्ती खेप्नुपरेको मानव अधिकार सञ्जाल गोरखाका अध्यक्ष यदु प्रसाद अधिकारी बताउँछन्।

भन्छन्, ‘लोडसेडिङ मुक्त क्षेत्र भन्ने अनि लाईन मारेको मारै गर्ने’ अधिकारीले भने ‘कुन बेला लाइन आउँछ, कुन बेला जान्छ थाहै हुँदैन। अहिले प्रविधिको युग हो। सबै काम बिजुलीमा निर्भर रहन्छ। सरकारी कार्यालयमा केही काम लिएर गयो, लाइन छैन भन्दै घण्टौँ कुर्नुपर्छ।’

गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्नु अघि ठाउँ अनुसार विद्युत आपूर्ति हुने समय निर्धारण गरिन्थ्यो। गोरखाबासी सोही निर्धारित समयलाई आधार मानेर कुन बेला के काम गर्ने भनेर आआफ्नो समय तालिका बनाएर काम गर्ने गर्थेँ। तर, आजभोलि कुन समयमा लाइन जान्छ, कुन समयमा आउँछ भन्ने कुरा थाहा नहुँदा गोरखालीबासीले समस्या भोग्नुु परेको छ।

‘कम्प्युटरमा बसेर काम गरिरह्यो, झ्याप्प बत्ती जान्छ, झ्याप्प आउँछ। कम्प्युटर नै बिग्रन्छ भन्ने डर। मोबाइल चार्जमा राखेर कहीँ कतै जाउँ भने बत्ती आउने जाने गरिरहँदा पावरसर्ट भएर पड्किन्छ कि भन्ने डर। बिनासूचना बत्ती जाने आउने गर्दा सबैले यो समस्या भोग्नुुपरेको छ’, गोरखा नगरपालिका वडा नम्बर ६ का स्थानीय राजु श्रेष्ठ भन्छन्। 

‘प्राविधिक समस्याका कारण कहिलेकाहीँ अथवा दिनमा एक/दुई पटक बिजुली जाने आउने हुनु त स्वाभाविक हो तर घण्टाैं दर्जनौँ पटक जाने आउने गरिरहन्छ। यसलाई न्यूनीकरण गर्नु आवश्यक छ’, गोरखा बजारमा नै घर भएका अर्जुन खड्काले भने।

वर्षातको समय भएकाले हावाहुरी आउने गर्दा विभिन्न ठाउँका पहिरोले पोलहरु ढल्ने, ट्रान्समिटर पड्किने, बिजुलीका पोलहरुमा रुख ढल्ने जस्ता प्राविधिक समस्याका कारण बत्ती झ्याप्प झ्याप्प हुने गरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गोरखाका सूचना अधिकारी कृष्ण कँडेल बताउँछन्। 

‘विभिन्न प्राविधिक कारणले कुनै ठाउँको बिजुली बिग्रिएको हुन्छ। गोरखामा बिजुली प्रसारण लाइन पनि लामो छ। कुनै ठाउँमा बिजुली बिग्रियो भने कहाँको लाइन हो पत्ता लगाउने प्रविधि हामीसँग छैन। समस्या आएको ठाउँ पत्ता लगाउन सबै ठाउँको बत्ती अन/अफ गरेर चेक गर्नुपर्ने हुन्छ। त्यसले गर्दा लाइन आउने जाने भएको हो’, उनले भने।

सकेसम्म समय समयमा हुने विद्युत् अवरुद्धलाई सुधार गर्न आफूहरु निरन्तर लागिपरेको उनी बताउँछन्। उनी भन्छन्, ‘दरबन्दीभन्दा आधा मात्रै कर्मचारी छौँ, त्यसले पनि समस्या छ। तर, हामी हाम्रो कारणले बिजुली अवरुद्ध नहोस् भनेर रातदिन ड्युटी गरिरहेका हुन्छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.