|

दाङ : घोराही उपमहानगरपालिका-१४ की बाल्मी केसी पूर्व शिक्षिका हुन्।

उनले करिब ३२ वर्षसम्म शिक्षण पेशा गरिन्। अवकाश लिएपछि अचेल उनी बजारमा यत्रतत्र रहेका फोहर व्यवस्थापन कार्यमा व्यस्त हुने गरेकी छिन्‌।

​घोराही बजारलाई फोहरले कुरूप बनाएपछि यसको व्यवस्थापन गर्न घोराही-१७, पनौरामा केसीले गत पुसदेखि कवाड व्यवस्थापन प्रेस उद्योग सञ्‍चालनमा ल्याएकी छिन्‌।

घोराही उपमहानगरले फोहर व्यवस्थापन गर्दै आएपनि यो  आफूले पुन: प्रयोग गर्न सकिने फोहर व्यवस्थापन गरिरहेको केसीले जानकारी दिइन्‌।

‘पानीका बोतल, प्लाष्टिकका झोलाहरू लगायत फोहरले बजारलाई कुरूप बनाएको थियो,’ उनले भनिन्, ‘फोहर व्यवस्थापनमा जिम्मा उपमहानगरपालिका लागिरहेको छ, तर प्रभावकारी हुन सकेको छैन, म बजारतिर आउँदा फोहर देख्दा साह्रै नराम्रो लाग्थ्यो, पुन: प्रयोग हुने फोहरहरू कसरी तह लगाउन सकिएला भनी सोच्थें, पछि आफैंले प्रशोधन उद्योग सञ्‍चालन गरेँ।’

हेर्दा सामान्य लागे पनि फोहरले वातावरणमा मात्र नभइ माटोमै समेत असर गरिरहेको उनी बताउँछिन्‌। ‘हामीमध्ये अधिका‌शले बजारका सडकपेटी वा खोला-कुलामा फोहोर फाल्छौं, यी सबै फोहर हाम्रो खेतबारी जान्छन्। त्यस कारणले पनि माटोको उर्वराशक्ति हराउँदै गएको छ,’ उनले थपिन्।

आफूले फोहर व्यवस्थापन उद्योग सञ्‍चालनमा ल्याएपछि स्थानीय सरकारलाई पनि सहयोग पुगेको बताइन्। उपमहानगरलाई फोहर व्यवस्थापन गर्न चुनौती रहेको, तर आफूहरूले पुन: प्रयोग हुने फोहर व्यवस्थापन गरिदिएपछि धेरै सहज भएको उनको भनाइ छ।

केसीका अनुसार हालसम्म उद्योग सञ्‍चालन गर्न करिब ३० लाख रुपैयाँ लगानी भइसकेको छ। अहिले उद्योगबाट उत्पादन भएको फहोहोरजन्य सामग्री भैरहवा, बुटवल र नेपालगन्ज पठाउँदै आएको समेत उनले बताइन्। उद्योगमा १२ जनाले रोजगारी पाएका छन्।

उद्योगबाट अचेल दैनिक ६ टनजति फोहर पुन: प्रयोगका लागि उत्पादन भइरहेको उद्योगका मेसिन अपरेटरमा काम गर्दै आएका किरण केसीले बताए। पानीका बोतल लगायत अन्य फोहरजन्य कच्चा पदार्थहरूलाई १० देखि १२ रुपैयाँ किलो खरिद गर्ने गरिएको उनले जानकारी दिए।

उद्योगमा काम गर्दै आइरहेकी श्रीधरा कुमालले पहिले मजदुरी गर्न आफू विभिन्न ठाउँमा जाने गरेपनि उद्योग खुलेपछि यहाँ काम पाउँदा धेरै सहज भएको बताइन्‌।

घोराही उपमहानगरपालिकाले पनि फोहर व्यवस्थापन गर्दै आइरहेको छ। उपमहानगरपालिकाले यहि बैशाख १ गतेदेखि उपमहानगरका नागरिकहरूसँग फोहर किन्न थालेको छ। त्यस्ते उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न समेत लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.