|

गोरखा : समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउनु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो। तर, यतिबेला उनीहरुलाई कोरोना रोकथाम तथा न्यूनीकरणका लागि ‘सुरक्षा कवज’ को रुपमा काम गर्नुपर्ने अर्को जिम्मेवारी पनि सरकारले थप गरिदिएको छ। 

हरेक ठाउँमा तय भएका मापदण्ड पालना भएनभएको निरीक्षण गर्ने, कार्यान्वयन गराउने र उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पनि प्रहरीको नै छ। तर,अरुको सुरक्षाका फ्रन्टलाइनमा खटिने प्रहरीसँग नै आवश्यक सुरक्षा सामग्रीको अभाव छ।

‘अहिले बाग्लुङ संक्रमणको हिसाबले उच्च जोखिममा छ। हामी, जोखिम न्यूनीकणका लागि फ्रन्टलाइनमा खटिएर काम गरिरहेका छौं। तर, हामीसँग आवश्यक सुरक्षा सामग्रीको भने अभाव छ’ बाग्लुङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्मीमगरले भने,‘सिमित श्रोत साधनको अधिकतम् प्रयोग गरेर हाम्रो कर्तव्यप्रति जिम्मेवार भएर काम गरिरहेका छौँ तर सुरक्षा सामग्री नहुँदा असुरक्षित महसुस भइरहेको छ।’  

गण्डकी प्रदेशका सबै जिल्लामा प्रहरी कर्मचारीहरू आफ्नै खर्चमा सुरक्षाका सामग्री खरिद गरेर प्रयोग गर्ने गरेका छन्। ‘हाम्रो साधन स्रोतको बारेमा तपाईहरुलाई थाहा छँदै छ। हामीसँग पर्याप्त स्रोत साधन नभएपनि हाम्रा प्रहरी कर्मचारीहरुले व्यक्तिगत स्वास्थ्यमा ख्याल राख्दै मास्क, सेनिटाइजर आफैंले किनेर भएपनि अनिवार्य प्रयोग गरेर सक्दो सुरक्षित हुन सबैलाई निर्देशन पनि गरेका छौं’ गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले भने।

अधिकांश प्रहरीहरु ब्यारेकमा सामूहिक रुपमा बस्ने गर्छन्। उनीहरुको खाने र सुत्ने ठाउँ एउटै हुन्छ। नचाहाँदा नचाहाँदै एकअर्कासँग प्रत्यक्ष रुपमा सम्पर्कमा आइरहेका हुन्छन्। अपराधिक गतिबिधिमा संलग्नलाई पक्राउ गर्ने कुरामा होस् या शान्ति सुरक्षा कायम गर्न होस् बिभिन्न कामका कारण प्रहरीले दैनिक धेरै मानिसको प्रत्यक्ष रुपमा सम्पर्कमा आउनुपर्ने हुन्छ। त्यस कारण पनि प्रहरी कोरोना संक्रमणको उच्च जोखिममा पर्छन्।

‘हाम्रो कामको प्रकृत्तिले पनि हामीमा कोरोनाको जोखिम उच्च छ। फ्रन्टलाइनमा खटिने भएको कारण सबैभन्दा बढि जोखिममा रहेको भनेको हामी नै हो’ खनालले भने,‘अपराधी वा अभियुक्त कोरोना संक्रमित नै भए पनि हामीले पक्राउ गर्नैपर्छ। आफू असुरक्षित भएर पनि आम जनताको सुरक्षाका लागि खटिनु हाम्रो कर्तव्य हो।’

फ्रन्टलाइनमा खटिएर काम गर्ने अन्य पेशाका कर्मचारीहरुका लागि सरकारले आवश्यक सुरक्षा सामाग्रीको व्यबस्था गर्छ। तर, प्रहरीलाई भने यस्ता कुरामा सरकारले सधैं उपेक्षा गर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। ‘हामीसँग अहिले सुरक्षा सामग्री केही पनि छैन। हामीले व्यक्तिगत खर्चमा मास्क, सेनिटाइजर किनेर प्रयोग गरिरहेका छौं’ लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले भने,‘सहयोगी संस्थाहरुले पहिले दिनुभएको थियो यसपालि त्यो पनि कहिकतैबाट आएको छैन। आउँछ होला। हामीले काम गर्दैगर्दा संक्रमणको डर त हुन्छ तर, डरले हामी जिम्मेवारीबाट पछि हट्दैनौं।’

अरु पेशाकर्मीलाई कोरोनासँग जति डर छ त्यो भन्दा कयौं गुणा बढी सुरक्षाकर्मीलाई हुन्छ। तर, आवश्यक सुरक्षा सामग्री नभएर डराउँदै ड्युटी गरिरहने उनीहरु सम्बन्धित निकायसँग पीपीईको माग पनि गर्न सक्दैनन्। ‘हामीसँग भएका स्रोतसाधनको अधिकतम प्रयोग गरेर ड्युटी गरिरहेका छौं। हामी उच्च जोखिममा त छौं तर आवश्यक स्वास्थ्य मापदण्डलाई ख्याल राखेर सचेत हुँदै सेवा प्रदान गर्ने कुरामा दत्तचित्त छौं’ गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी मोहनप्रसाद पोखरेलले भने,‘फ्रन्टलाइनमा खटिएका प्रहरीलाई सरकारले न भत्ता दियो, न पूरा तलब।’

पहिलो चरणमा कोरोना संक्रमणको दर उच्च हुँदा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाउन भन्दै सरकारले जोखिम भत्ता दिने घोषणा गरेको थियो। सँगै सुरक्षाकर्मीको तलब पनि कटौती गरियो। सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोखिममा राखेर भएपनि कोरोना रोकथाम तथा न्यूनीकरणका लागि निरन्तर फिल्डमा खट्टिरहे। तर, फ्रन्टलाइनमा खटिने प्रहरीलाई सरकारले न भत्ता दियो न पूरा तलब नै। नेपालमा कोरोना संक्रमणको लहर सुरु भएदेखि हालसम्म गण्डकी प्रदेशभर ६ सय ६८ जना प्रहरी कोरोनाबाट संक्रमित भएका छन्। 

प्रदेशभर संक्रमित प्रहरीमध्य हालसम्म म्याग्दीमा कार्यरत एक जनाको मृत्यु भएको छ भने हाल प्रदेशभर एक जना संक्रिय संक्रमित रहेका छन्। हाल संक्रिय संक्रमित प्रहरी बाग्लुङमा कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.