बेडले धान्‍न सकेन, तर हेलचेक्रयाइँ गर्ने घटेनन्

|

पर्सा : कोरोनाको ग्राफ ह्वात्तै बढिरहेको वीरगन्जमा एकै दिन तीन महिलाको कोरोनाका कारण निधन भएको छ। बिहान एक महिलाको निधन भएको वीरगन्ज क्षेत्रमा साँझ दुई महिलाको फेरि निधन भएको हो। 

योसहित सोमबार एकै दिन वीरगन्जमा ३ महिलाको  कोरोनाको कारण निधन भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरकी ६० वर्षीया महिलाको निधन भएको साढे ८ घण्टा बित्न नपाउँदै वीरगन्ज–८ की अर्की महिला र पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ की अर्की महिलाको पनि निधन भएको नारायणी अस्पतालले जनाएको छ।

योसहित वीरगन्ज क्षेत्रमा कोरोनाको कारण निधन हुनेको संख्या १४ भइसकेको छ। हिजोसम्म यो संख्या जम्मा ११ मात्र थियो। आज (सोमबार) निधन भएका ३ महिलासहित एकै दिन मृतकको ग्राफ पनि बढेको चिकित्सकहरुले बढाए। 

शरीरमा समस्या भएपछि स्वास्थ्य परिक्षण गराउँदा आरटी पिसिआर पोजेटिभ आएपछि ६० वर्षीया महिलालाई गएको ३ गते वैशाखमा नै नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

उनको पिसिआर रिपोर्ट २ गते नै पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए। उनको सोमबार बिहान ९ बजेर ३० मिनेटमा निधन भयो उनले भने। 

त्यसै गरी अर्की ३८ वर्षीय महिलाको पनि १० गते नै पोजेटिभ रिपोर्ट आएको थियो। ती महिलालाई सोमबार दिउँसो शारीरिक समस्या हुन थालेपछि १२ बजेर १५ मिनेटमा वीरगन्जको गण्डकमा रहेको निजी अस्पताल नारायणी वयोधामा भर्ना गरिकोमा उनको पनि साँझ ५ बजेर ४६ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।

अर्की बहुदरमाई नगरपालिकाकी ४५ वर्षीया महिला आइतबार नारायणी अस्पतालमा भर्ना भएकी थिइन्। उनको रिपोर्ट सोमबार पोजेटिभ आएको हो। सोमबार साँझ उनको पनि निधन भएको नारायणी अस्पतालका डा. दासले बताए। 

मृतकहरुमा गम्भीर किसिमको निमोनिया रहेको डा दासको भनाइ छ। अस्पताल भर्ना भएदेखि उनीहरुलाई बचाउन निकै प्रयास गर्दा पनि अवस्थामा सुधार नसकेको उनले बताए।  

वीरगन्जको अवस्था आउट अफ कन्ट्रोल : डा सिंह 

जिल्लामा कोरोनालाई हेलचेक्रयाइँ गर्ने क्रम घटेको छैन। चिकित्सक र स्वास्थ्यकर्मीहरु भने बिरामीको अवस्था हेरेर प्रेसरमा छौं। तर समाज अझै सचेत हुन सकेको छैन।

'एउटै बेडमा ३ जनासम्म बिरामी राखेर उपचार गराइएको क्षण पनि भोगियो। सोमबार बिहान एकै पटक हुर्हुरी बिरामी आए। अहिले त अलि व्यवस्थापन गरियो। तर भोलि अरु आउँदा अब व्यवस्थापन गर्न कठिन छ,' नारायणी अस्पतालका पुराना डाक्टर निरज सिंहले बताए। 'सचेत नहुने हो भने अवस्था निकै भयावह हुन्छ। अहिले नै वीरगन्जको अवस्था आउट अफ कन्ट्रोल हुन थाल्यो,' उनले भने।

नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ। बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो उनीहरुले गुनासो गरे। 

सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा डा सिंहले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै ‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षको हो' भनी लेखेका पनि छन्। 'एउटै बेडमा २/३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ', उनको स्टाटसमा पनि लेखिएको छ।

नारायणीमा कोरोना संक्रमित राख्न छुट्याइएको आइसोलेससन कक्ष सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै अन्य बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न परेको अस्पतालले जनाएको छ। त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नु पर्‍यो', डा. सिंहले भने। 

अस्पतालमा भर्ना भएका सबैलाई अक्सिजन दिएर राखिएकोले कति बेला के हुन्छ ? यसै भन्न नसकिने नारायणी अस्पतालका डा. सिंहले बताए। सोमबार साँझसम्म थप ४८ बेडको आइसोलेसन वार्ड बनाई उपचार गर्दैछौं। तर संक्रमण दर उच्च भएकोले ३७ बाट ४८ बनाउँदैमा बिरामी अट्ने सम्भावना नै छैन उनले भने। ​

बेडभन्दा बिरामी बढी

नारायणी अस्पतालमा संक्रमितका लागि जम्मा ३७ वटा बेड छुट्याइएकोमा सो सबै फूल भएको अस्पतालले जनाएको छ। अब आकस्मिक कक्षमा नै अन्य बिरामीसँग संक्रमितलाई पनि राखेर उपचार गर्नुको विकल्प नभएको अस्पतालको तर्क छ।

वीरगन्जमा अहिलेसम्म ५४ जना संक्रमित अस्पतालमा नै भर्ना गरी उपचार गराइरहेका छन्। जसमा १३ जना भने निजी अस्पताल नारायणी बयोधा र ४१ जना नारायणी अस्पतालमा रहेका जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले बताए। उनी जिल्ला प्रशासन कार्यालयको संक्रमितहरुको तथ्यांक अपडेट गरी आधिकारिक रुपमा संचारकर्मीलाई दिने फोकल पर्सन हुन्।

सकृय संक्रमित असरल्ल 

बेड अभाव र अलि सामान्य अवस्थाका ७ सय ९८ जना बिरामी विभिन्न पालिकाको स्वास्थ्य शाखासँग समन्वय गरी होम आइसोलेशनमा नै राखिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत श्रीवास्तबले बताए। उनीहरु सबै सकृय संक्रमित हुन्।

यता होम आइसोलेसनमा बसेकाहरु भने आफ्नो अनुकुल शहर, बजार, चोक चौराह र पसलहरुमा निर्धक्क घुमिरहेका खुलेको छ। दक्षिण तर्फ खुला सीमाबाट भित्रिने संक्रमित र यता तर्फ संक्रमित भइसकेका पनि हेलचेक्र्याइँ गरी हिँड्दा वीरगन्ज कोरोनाको चपेटामा परिसकेको स्थानीयले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.