|

काठमाडौं : उपत्यकामा निषेधाज्ञाको पहिलो दिन बिनापास गुडेका दुई हजार ३९ सवारी कारबाहीमा परेका छन्।

उपत्यकामा निषेधाज्ञा पालना नगर्ने दुई पांग्रे एक हजार दुई सय ८८ र चार पांग्रे पाँच सय ५१ सवारी साधन कारबाहीमा परेका हुन्। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शुशिलसिंह राठौरले उपत्यकाका तीन जिल्लामा बिनापास गुडेका दुई हजार ३९ सवारीलाई दिनभर होल्ड गराएर बेलुकी छोडेको जानकारी दिए।

‘पहिलो दिन भएकाले दिनभर होल्ड गरेर छोडेका छौं’ राठौरले भने,‘भोलिबाट थप कडाई गर्छाै।’ यस्तै बिहीबार अत्यावश्यक काम बिना हिँड्ने दुई हजार चार सय २२ जनालाई प्रहरीले होल्ड गरेको छ। राठौरका अनुसार मास्क नलगाउँने, बिना काम हिँड्नेलाई प्रहरीले केहीबेर होल्ड गरेर सम्झाइ छोडेको छ।

राठौरका अनुसार निषेधाज्ञा कार्यान्वयनका लागि उपत्यकाका प्रमुख नाका तथा ५३ वटा प्रमुख ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा चेकजाँच भइरहेको छ। उपत्यकाका बिभिन्न सात सय २२ स्थानमा प्रहरीको उपस्थिती रहेको राठौरले जानकारी दिए। महानगरीय प्रहरी कार्यालयले प्रहरी नायव महानिरीक्षक उमेशराज रंजितकारको नेतृत्वमा निषेधाज्ञा अनुगमन टोलीसमेत खटाएको छ। 

महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले कोरोना महाकारीबाट जोगिन निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई आग्रह गरे। कोरोना जोखिम न्यूनीकरण गर्न नागरिकको ठूलो भूमिका रहेकोले बिनाकाममा बिनापास बाहिर हिँडडुल नगर्न भट्टराईले अनुरोध गरे। सरकारले उपत्यकाका तीन जिल्लामा दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.