|

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभाव हुँदै गएपछि दाङका स्थानीय तहहरूले अक्सिजनसहितको आइसोलेसन निर्माण थालेका छन्। २५ बेडको कोरोना विशेष अस्पतालमा अहिले ४२ बेड सञ्चालन छ।  तीमध्य ५ वटा आइसियु र अन्य एचडियु हुन्।

दाङमा दैनिक २०० जनाको हाराहारीमा संक्रमित थपिँदै गएका छन्। तीमध्ये गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ। संक्रमितहरूमध्ये केही बेलझुण्डी र केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।

सबैभन्दा बढी संक्रमित तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका छन्। संक्रमित बढ्दै गएपछि तुलसीपुरले अक्सिजनसहितको आइसोलेसन निर्माण तीव्र पारेको छ। वडा नम्बर ८ मा रहेको भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (मेट्रो हस्पिटल) मा ५० बेडको आइसोलेसन सेन्टर अबको दुई दिनभित्र सञ्चालनमा आउने उपमहानगरका जनस्वास्थ्य प्रवर्द्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिए।  

त्यस्तै‚ शान्तिनगर गाउँपालिकाले पनि कोरोना महामारीलाई मध्यनजर गरी वडा नम्बर ६ को धनौरी स्वास्थ्य चौकीमा अक्सिजनसहित २० बेडको आइसोलेसन स्थापना गरी सेवा सुरू गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरिबहादुर पुनले जानकारी दिए। आइसोलेसनका लागि गाउँपालिकाले १ जना चिकित्सकलाई करारमा ल्याएर ब्यबस्थापन गरेको उनको भनाइ छ। आइसोलेसनमा ८ वटा मात्र अक्सिजन सिलिण्डर रहेको र त्यसैबाट सेवा दिँदै आइरहेको संयोजक पुनले बताए।

बबई गाउँपालिका हापुरेमा ३० बेड क्षमताको अक्सिजनसहितको अस्पताल सञ्चालनको तयारी थालेको छ। गाउँपालिका अध्यक्ष भुवनेश्वर पौड्लेका अनुसार अस्पताल अबको २ दिनमा सञ्चालनमा आउने छ। गाउँपालिकाले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३० लाख रूपैयाँको कोष निर्माण गर्ने र कोरोना विशेष अस्पताल बेलझुण्डीलाई १ लाख सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

त्यस्तै, दंगीशरण गाउँपालिकाले पनि २० बेडको आइसोलेसन सुरु गर्न लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक दशरथ गिरीले बताए। अहिले ५ बेडमा अक्सिजनसहितको सेवा दिँदै आइरहेको भए पनि अक्सिजनको समस्याले गर्दा अरु चलाउन समस्या भएको उनको भनाइ छ। उनका अनुसार अक्सिजन सहज रुपमा पाइए २० बेडको अक्सिजनसहितको सञ्चालन गर्ने तयारी छ।

घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्यन्तै जटिल अवस्था आएमा ४० बेडसम्मको सञ्चालन गर्ने गरी सम्झौता भएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले बताए। ४० बेडले पनि नपुग्ने अवस्था आए भवन भाडामा लिएर अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ। त्यस्तै, अहिले बाहिरबाट आएका ब्यक्तिहरुलाई समस्या भएमा सामुदायिक भवनहरुमा टोल विकासका अध्यक्ष र स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने निर्णय भएको समेत उनले बताए।

त्यस्तै, बंगलाचुली गाउँपालिकाले पनि शनिवारदेखि २० बेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न लागेको जनाएको छ। वडा नम्बर ४ को झुलीडाँडामा सञ्चालन गर्न लागेको आइसोलेसनमा अहिले ४ वटा अक्सिजनका सिलिण्डर रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले जानकारी दिए। गाउँपालिकाले कोरोना रोकथामका लागि २० लाखको कोरोना कोष स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिए। यस्तै कोरोना अस्पताल बेलझुण्डीलाई १ लाख आर्थिक सहयोग दिने समेत निर्णय गरेको उनले जानकारी दिए।

देउखुरी क्षेत्रका ४ वटा स्थानीय तह राप्ती, लमही, राजपुर र गढवाले लमहीस्थित नेत्रलाल प्रतिष्ठानमा आइसियुसहितको २५ बेडको कोरोना अस्पताल सञ्चालन गर्न लागेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए। त्यस्तै, राप्ती गाउँपालिकाले पनि २० बेडको आइसोलेसन सिसहनियामा सञ्चालन गरेको उनले बताए। तर, अक्सिजनको अभाव रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.