|

काठमाडौं : काठमाडौंका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियु) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी  बिरामी लैजानेक्रम जारी छ। 

कारोना महामारीको पहिलो चरणमा काठमाडौं उपत्यका बाहिरका  बिरामीलाई ‘हवाई बेड लिफ्ट’ गरी उपचारार्थ यहाँ ल्याइने गरिन्थ्यो।  यसक्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा आज काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना सङ्क्रमितलाई थप उपचारार्थ हेलिकप्टरमार्फत ‘बेड सिफ्ट’ गरिएको छ। काठमाडौंका अस्पतालमा  भेन्टिलेटरसहितको आइसियु शय्या नपाएपछि झापा कमल गाउँपालिका–५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो।
 
यस्तै, वैशाख १५ गते पनि काठमाडौंको ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटरसहित आइसियु अभाव भएपछि हवाई चार्टरमार्फत बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो।  हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। 

गिरीका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटरसहित आइसियुको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्नेक्रम निरन्तर जारी  छ। बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियु शय्या, विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ।

‘ती मध्ये २५ भेन्टिलेटर सहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएका छौं,’ उनले भने, ‘बिरामीको आवश्यककता अनुसार थप गर्दै जाने अस्पतालको नीति रहेको छ।’

अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियु शय्याको ब्लग सञ्चालनमा ल्याएको छ। विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गरिरहेका छन्। 

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दूर्गा प्रसाईँले कोभिड –१९ संक्रमितका उपचारमा बीएण्डसी अस्पतालले उच्च प्राथमिताका साथ सेवा प्रदान गरिरहेको जानकारी दिए। उनले राज्यलाई आवश्यक परेमा कोरोनाका बिरामीलाई अस्पतालमा भएका सबै शय्या र  भेन्टिलेटरसहितका आइसियु शय्या उपचार सेवामा  लगाउन आफू तयार रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.