|

धनगढी : कोरोना संक्रमितहरू तीव्र रुपमा बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशका सबै नाै जिल्लामा निषेधाज्ञा लागू भएको छ। सोमबारदेखि बैतडी, अछाम, बाजुरा र डोटीमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागु भएका जिल्लाको संख्या नाै पुगेको हो।

भारतसँग सीमाना जोडिएका कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। एक हप्ताका लागि लगाइएको निषेधाज्ञा वैशाख मसान्तसम्म लम्बाइएको छ।

जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागु हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए। जिल्लामा दोस्रो चरणको कोरोना भाइरस संक्रमण फैलिएपछि जिल्लामा संक्रमित संख्या १८५ पुगेको स्वास्थ कार्यालयका कोभिड सम्पर्क व्यक्ति मीन कुँवरले जानकारी दिए। 

कोरोनाको दोस्रो लहरमा ४ जनाको मृत्यु भइसकेको कुँवरले बताए। सबैभन्दा बढी बान्नीगढी जयगढ गाउँपालिकामा ६५ भन्दा बढी संक्रमित छन्। 

जिल्ला प्रशासन डोटीले पनि सोमबारदेखि लागू हुनेगरी १० दिनका लागि निषेधाज्ञा जारी गरेको सोमबार राति १२ बजेदेखि लागू हुने गरी वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन संचालनमा रोक लगाइएको छ। त्यसैगरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मका लागि खाद्य सामग्रीका पसलहरू खोल्न पाइने बताइएको छ।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूले भीडभाड नहुने गरी अत्यावश्यक सेवाबाहेक अन्य सेवा निषेधाज्ञा अवधिभर स्थगित गर्न भनिएको छ। सो अवधिभर सभा, सम्मेलन, जात्रा, महोत्सवलगायत भीडभाड हुने कार्य गर्न रोक लगाइएको छ।

जिल्लामा संक्रमितको संख्या १ सय ९८ पुगेसँगै निषेधाज्ञा जारी हो। डोटी जिल्लामा सोमबार मात्रै ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ। दार्चुला र डडेल्धुराले आइतबारदेखि नै निषेधाज्ञा जारी गरिसकेको छ। 

यस्तै बाजुरामा पनि बुधबार बिहीबार बिहान ५ बजेदेखि बैशाख ३१ गते राति १२ बजे सम्म  निषेधाज्ञा जारी गरिएकाे छ। प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीले बुधबारदेखि निषेधाज्ञा जारी गर्ने  निर्णय साेमबार गरिएकाे जानकारी दिए।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहने बताइएको छ। अत्यावश्यक सवारी साधन जस्तैः एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनको सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने छन्।

खाद्य सामग्रीका पसलहरू बिहानको समयमा खोल्ने र अतिआवश्यक कामकाजबाहेक हिँडडुल गर्न पाइने छैन। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.