|

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।

शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने तर विश्वासको मतको विपक्षमा मत दिने निर्णय बैठकले गरेको खाँडले जानकारी दिए। ‘ओलीलाई विश्वासको मत नदिने र आफ्नो नेतृत्वमा सरकार बनाउन राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय बैठकले गरेको छ’ खाँडले भने,‘प्रधानमन्त्री ओली राजनीतिक र प्रशासनिक रूपमा पूर्ण असफल भएकाले उहाँलाई कांग्रेसले विश्वासको मत दिँदैन। आफ्नो नेतृत्वमा सरकार गठन गर्न अन्य दलसँग छलफल गर्छ।’

प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको प्रमुख सचेतक खाँडको भनाई थियो।प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन्। यस्तै, कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ। उसले संवैधानिक परिषद् बैठकमा सहभागी नहुन सदस्यहरूलाई आग्रह गरेको छ। आइतबार प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाकेका छन्।

बैठकले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै जनताको जिवनरक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षणसमेत गराएको छ। यस्तै, उसले खोपको आपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नेसमेत जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.