|

गोरखा : गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालमा बेड अभाव भएपछि कोरोना संक्रमितलाई अस्पताल परिसरको आँगनमा राखेर उपचार गर्न थालिएको छ।
अस्पतालमा रहेको आइशोलेसन बेड भरिएकाले संक्रमितलाई आँगनमा नै राखेर उपचार गर्नु परेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए।

‘हाम्रो अस्पतालमा ६ बेडको मात्रै आइशोलेसन छ‚’ उनले भने‚ ‘आइसोलेसन बेड भरिएर आँगनमा राखेर उपचार दिइरहेका छौं।’

अस्पतालको आँगनमा टाँगिएको टेन्टमा अक्सिजन दिएर एक सुत्केरीको पनि उपचार भइरहेको छ। उनी बैशाख १४ गते सुत्केरी भएकी थिइन्। सिरानचोक गाउँपालिकाकी उनी नवजात शिशुलाई घरमा छाडेर दुई दिनदेखि उपचाररत छिन्।

सूचना अधिकारी ढकालका अनुसार अस्पतालले धान्न नसक्ने गरी बिरामीको चाप छ। अस्पतालको ओपिडीमा आएका अधिकांश ज्वरोका बिरामी छन्। यस्तै‚ गाउँगाउँमा स्वास्थ्यमा समस्या आएको बताउँदै अस्पताल आउन टेलिफोन गर्नेको सख्ंया पनि धेरै रहेको उनले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शान्ति भुर्तेल भवन अभाव भएकाले आइसोलेसन बेड थप गर्न नसकेको बताउँछिन्। उनी भन्छिन्, ‘अस्पतालको भवन बन्दैछ। अहिले आवासबाट नै अस्पताल चलिरहेको छ।’

गोरखा सदरमुकाममा अस्पताल वाहेक अन्यत्र आइशोलेसन निर्माण गरिएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.