|

दार्चुला : महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ। यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ। धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि फोहरले नदी दुर्गन्धित बन्दै गएको छ।

अहिले प्रदूषणकै कारण नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन्। ‘सदरमुकाम खलङ्गाको किनारका बस्तीका सबै फोहर नदीमै जान्छ,’ स्थानीयवासी वीरसिंह धामीले भने,‘खलङ्गाको बङ्गाबगडबाट किम्तडी नजिकसम्म हे¥यो भने फोहर जताततै भरिएको छ।’

बजार क्षेत्रको फोहर महाकालीमै बिसर्जन गरिन्छ। किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ। अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ। यसले महाकाली नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो। कुहिने नकुहिने सबै प्रकारका फोहर महाकालीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो। खासगरी बङ्गाबगडबाट पुलघाट तथा किम्ती नजिकैको छेउमा फोहरको थुप्रो फालिएको छ।

सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट किम्तडी क्षेत्रसम्म जथाभावी फोहर फाल्ने गरेका कारण नदी दुर्गन्धित बनेको छ। दाहसंस्कार स्थलमा मृतकका लुगाकपडा तथा अन्य सामग्री फाल्दा झनै दूषित बनेको छ।

‘फोहरमैला र ढल निकासका कारण नदी दूषित बन्दै गएको छ,’ सङ्कल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले भने,‘सले जलचर प्राणीलाई पनि असर पुर्‍याएकाे छ। मानवबस्ती भएका क्षेत्रमा नदी अझ बढी दूषित भएको छ।’ वातावरणमा परेको असरले सिङ्गो जलचर प्राणी मात्र नभई मानव स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाइ छ।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट नमस्कार तलैसम्म नदी किनारमा फोहरैफोहर छ। बढदो शहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण निकै बढेको स्थानीयवासी बताउँछन्।

पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफार्म बढ्दै गएको छ। यसबाहेक क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो छ।

नदी किनारका बासिन्दाले शौचालयको पाइप सोझै नदीमा मिसाउँदा प्रदूषण बढेको महाकाली नदी नियन्त्रण आयोजनाका कर्मचारी करनसिंह धामी बताउँछन्। ‘तटबन्धको काम भइरहेका बेला स्थानीयवासीको घरको दिसा मिसाइएको, ढलदेखि मदिराका बोतल प्लाष्टिकजन्य वस्तु सिधै नदीमा मिसाइएको देखिन्छ,’ उनले भने,‘कयौँ घरको शौचालयको सेफ्टीट्याङ्की अहिले पनि छैनन्। तटबन्ध निर्माणका क्रममा हामीले केही व्यक्तिलाई तटबन्धभित्रै सेफ्टीट्याङकी बनाउन भनेका छौं। मदिराका बोतल जथाभावी फालिएका देखिन्छन्।’

काम गराउनै निकै मुस्किल हुने गरी स्थानीयवासीले तटबन्ध छेउछाउमा फोहर जम्मा गरेको धामीको भनाइ छ। वातावरणविज्ञ कृष्णदेव जोशी महाकाली नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने सुनाए।

‘घरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा दूषितको मात्रा बढ्दै गएको छ। यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ, यसतर्फ सबैले समयमै सोच्नुपर्छ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.