|

इलाम : नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको प्रकोप बढेसँगै मेची आयुर्वेद औषधालयले ‘घर-घरमा मेची आयुर्वेद’ अभियान अघि बढाएको छ। आयुर्वेदले घरघरमै पुगेर संक्रमितहरुलाई परामर्श र औषधि वितरण सुरु गरेको हो। इलामका ९ स्थानीय तहमा कोरोनाको संक्रमण तीव्ररूपमा बढेसँगै संक्रमितहरूलाई घरघरमै सेवा प्रवाह गरिएको सूचना अधिकारी तीर्थ आचार्यले जानकारी दिए।

औषधालयले प्राणायाम, आयुर्वेदिक औषधिसहित आवश्यक परामर्श प्रदान गरिएको आचार्यले जानकारी दिए । माई नगरपालिका र रोङ गाउँपालिकाबाट सुरु भएको अभियानमा हालसम्म ४ वटा स्थानीय तहका १०२ जना र झापाका संक्रमित १० जना पत्रकार गरी ११२ जनालाई सेवा दिइएको छ।

मुलुकमै पहिलोपटक बिरामी भएकै स्थानमा पुगेर सेवा दिएको दाबी गरिएको यो अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरू संक्रमितको घर र आइसोलेससनसम्म पुगेर सेवा दिइरहेका छन्। औषधालयका प्रमुख विजय श्रेष्ठको नेतृत्वमा रहेको टोलीले हरेक बिरामीलाई गुर्जोचूर्ण, जेष्ठीमधुचूर्ण, त्रिकटुचूर्ण र अश्वगन्धा निःशुल्क प्रदान गरिरहेको छ।

१० वटा पालिकाका लागि ३ वटा समूह बनाएर काम अघि बढाइएको आचार्यले जानकारी दिए । अभियानमा नेपाल सरकारद्वारा जारी आयुर्वेद प्रोटोकलअनुसारको उपचार र परामर्श प्रदान गरिँदै आएको औषधालयले जनाएको छ ।

हालसम्म इलाममा १ जना कैदीसहित ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। २०९ जनामा संक्रमण देखिएकोमा ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.