|

विराटनगर : कोरोना संक्रमण भई आइसोलेसनमा बसेका मोरङका पत्रकारलाई निःशुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ।  क्युरा हेल्थले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) निःशुल्क उपलब्ध गराउने भएको हो।

महामारीको समयमा अस्पताल वा क्लिनिक जाँदा कोभिड–१९ लगायतका संक्रमणहरु सर्ने सम्भावना हुँदा टेलिमेडिसिन सेवामार्फत सेवा दिइने क्युराले जनाएको छ। सामान्य लक्षण भएका संक्रमित पत्रकारलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइ नपरोस् भनेर यो सुविधा दिन लागेको क्युरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताइन्। कोरोना संक्रमणपछि उत्पन्न हुन सक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने उनको भनाइ छ।

‘टेलिमेडिसिन सेवा प्राप्त गर्न क्युरा हेल्थको मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्छ,’ उनले भनिन् , ‘एपमा देखाइए अनुसार कोभिड–१९ खण्डमा गई सूचिकृत भएका चिकित्सकहरुसँग एपोइटमेन्ट लिनुपर्छ र चिकित्सकहरुबाट सेवा प्राप्त गर्न सकिन्छ।’

यसैबीच क्युरा हेल्थसँगको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरुलाई सम्पर्क गराउन छुट्टै वेभ लिंक सञ्चालनमा ल्याएको छ। 

एनवाइइएफ विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सबैजना मानिस त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरु पनि अन्यौलमा परिरहेको बताए। उनले प्लाज्मा दान गर्न चाहने व्यक्तिहरुले सो बेवसाइटमार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको बताए।

पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरुले सम्पर्क गर्न सक्ने र संक्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरुको विवरण थाहा पाउन सहज हुने बताए। खनालले अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सामाजिक सञ्जालहरुमा प्लाज्मा आवश्यक भएको सूचनाहरु धेरै आउन थालेकाले प्लाज्मा दिन इच्छुकहरुलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.