|

रुकुम (पूर्व) : रुकुमकोटमा पाहुना घर बन्न लागेको दुई वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैनन्। जिम्मा लिएको (ठेकेदार) निर्माण व्यवसायले विभिन्न समस्या दर्साएर काम शुरु गरेको दुई वर्ष बितिसक्दासम्म भवन तयार गर्न नसकेको हो।

सिस्ने गाउँपालिका–५, रुकुमकोटस्थित कमलदह नजिकमा १२ कोठेको सरकारका भिआइपी पाहुनाका लागि पाहुना घर बन्न लागेको छ। २०७५ भदौ देखि ०७६ भदौ महिनाभित्र काम सम्पन्न गरिसक्ने भनि भवन सब–डिभिजन कार्यालय दाङसँग ग्यालबा क्याराभान जेभी कन्ट्रक्सन प्रालिले पाहुना घर निर्माणको सम्झौता गरेको थियो।

उक्त जेभी कन्ट्रक्सन प्रालिबाट स्थानीयले सहायक सम्पर्कमा जिम्मा लिएर ०७५ असोजबाट काम थाल्नी गरेका हुन्। एक वर्षभित्र काम सम्पन्न नभएपछि भवन डिभिजन कार्यालयले एक वर्ष समय थप गरेको थियो।

दुई वर्षमा सुविधा सम्पन्न दुई तल्ले भवन करिब अन्तिम चरणमा पुर्‍याइएकोमा गत वर्ष कोरोनाले गर्दा काम रोकिएको सहायक सम्पर्कमा निर्माणको जिम्मा लिएको ज्ञानु चन्दले बताए। गत वर्ष कोरोना संक्रमण जोखिमको कारणले काम सम्पन्न हुन नसकेमा यस वर्षको जेठ मसान्तसम्मको लागि निर्माण कार्य अवधि थप रहेको चन्दको भनाइ छ।

हाल निर्माण कार्य भइरहे तापनि कोरोना संक्रमणका कारणले निर्माण कार्यमा सहज नरहेको निर्माण व्यवसायले जनाएको छ। भवनलाई छोउने, झ्याल-ढोकामा रङ रोगन, आँगन निर्माणलगायतको गरी ३० प्रतिशत काम बाँकी रहेको भवन निर्माणका सब–इञ्जिनियर विकास शर्माले जानकारी दिए।

संघीय सरकारको दुई करोड ७५ लाख रुपैयाँ बजेटबाट विशिष्ट व्यक्तिका लागि पाहुना घर निर्माण भइरहेको छ। जिल्लामा आउने सरकारी भीआईपी पाहुनाका लागि सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै विशिष्ट पाहुना घर निर्माण हुन लागेको प्रदेश सभा सदस्य तेजबहादुर ओलीले बताए।

मन्त्री, सांसद, उच्चस्तरका सरकारी कर्मचारीलाई व्यवस्थित तवरले बसाल्नका लागि पाहुना घर निर्माणको अवधारणा रहेको ओलीको भनाइ छ। समयमा भवन तयार हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले पनि पटक–पटक ताकेता गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.