|

सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ।  अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन्।

उद्योगहरुको खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन नपाइने अवस्था देखिएपछि तनावमा आएका डा. झाले सहयोगका लागि सोमबार प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गरेका हुन्। 

अस्पतालका सिलिण्डर रित्तिँदै गएको तथा सुनसरीको इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको डा. झाले बताए। अस्पतालमा हाल छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन्। तीमध्ये ७० वटा सिलिण्डर खाली भएका छन्।

बाँकी रहेका सिलिण्डरबाट अन्य संक्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँँदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै संक्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गरे। अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङसम्मबाट खाली अक्सिजन सिलिण्डर लाममा बसेको छ।

अस्पतालको एचडीयु व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६÷१६ जना कोरोना संक्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन्। अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनु परेको भन्दै डा. झाले बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देशभरि नै अक्सिजन अभाव रहेकाले उद्योगमा लाम लागेको भन्दै वैकिल्पक उपाय खोजेर पनि आजसम्म अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.