|

इलाम : इलाममा कोरोनाको कहर तीव्र रुपमा बढ्दै गए पनि लाखौं खर्च गरेर ल्याइएको भेन्टिलेटर प्रयोगमा आउन सकेका छैनन्। दोस्रो लहरको कोरोना संक्रमण बढिरहेको बेला इलाममा लामो प्रतीक्षापछि आएका भेन्टिलेटर जनशक्ति अभावका कारण प्रयोगविहीन छ। 

५० बेडको इलाम अस्पतालमा संघीय सरकारको करिब ४० लाख रुपैयाँ खर्चेर ल्याएको भेन्टिलेटर इलामेलीका लागि ‘सिसाको बाकसमा सजाइएको उपहार’झैं भएको छ।

स्वासप्रश्वासका गम्भीर बिरामीका लागि भेन्टिलेटर प्रयोग हुनुपर्ने हो। तर, सञ्चालन गर्ने जनशक्ति नै नहुँदा बिरामीले आफ्नै जिल्लाको सरकारी अस्पतालमा रहेका भेन्टिलेटरको सुविधा लिन नपाएका हुन्।

गत असोजमा कोभिड–१९ का संक्रमित बिरामीलाई लक्ष्य गरी स्वास्थ्य मन्त्रालयको सहयोगमा ल्याइएको स्वासप्रश्वास सजिलो बनाउने किसिमका दुईवटा भेन्टिलेटर जडान गरिएको थियो।

इलाममा पछिल्लो पटक जडान गरिएको भेन्टिलेटर भने बच्चा र ठूला दुवै मानिसका लागि उपयोगी रहने जनाइएको छ। कोरोना सङ्क्रमणको धेरै जोखिम भएका बिरामीलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्न सके केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ।

तत्कालीन समयमा भेन्टिलेटर ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले पूर्वी पहाडका पाँचथर र ताप्लेजुङका बिरामीसमेत लाभान्वित हुने जनाएका थिए।

तर अहिले स्वासप्रश्वासका समस्या देखिएको खण्डमा इलामका बासिन्दाले झापाको अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता कायमै छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बराल कोरोना संक्रमित भएपछि अहिले आफैं झापाको बिएन्डसी अस्पतालमा उपचाररत छन्।

अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाका अनुसार उपकरण संचालनका लागि चाहिने एनेस्थेसियोलोजिस्ट इलाम अस्पतालमा भए पनि भेन्टिलेटरसँगै आवश्यक पर्ने अन्य विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या भएको हो। 

‘दरबन्दीमा विशेषज्ञ डाक्टर एक जना मात्रै स्थायी हुनुहुन्छ, बाँकी सबै करार र छात्रवृत्तिमा आएका डाक्टर छन्। दरबन्दीअनुसार विशेषज्ञ ल्याउन प्रदेशदेखि केन्द्रसम्म पहल गरे पनि सम्भव भइरहेको छैन’, व्यवस्थापक खतिवडाले भने। अहिले इलाम अस्पतालमा ९ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि ३ जना मात्रै कार्यरत छन्। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले मन्त्रालयबाट पटक–पटक अस्पतालमा जनशक्तिको अवस्थाबारे सोध्ने गरे पनि दरबन्दी पदपूर्ति नगर्दा सेवा प्रवाहमा समस्या आएको बताउँछन्।

जनशक्ति अभावकै कारण ३ महिनादेखि भेन्टिलेटर प्रयोगविहीन भएको उनले बताए। ‘अहिले नै भेन्टिलेटर प्रयोग गर्नुपर्ने बिरामी आएका छैनन्। आवश्यक परे प्रयोगमा ल्याउन सकिन्छ,’ उनले भने, ‘तर पूर्ण रुपमा चलाउन भने सकिँदन। सबै कुरा हेर्न सवै विशेषज्ञ चाहिन्छ। एउटै विशेषज्ञलाई किड्नी, ब्रेनलगायत सबै क्षेत्रको जानकारी हुँदैन। फरक फरक क्षेत्रको फरक विशेषज्ञ चाहिन्छ, जुन हामीसँग उपलब्ध छैन।’

आजबाट आइसियु बेड सञ्चालन हुँदै

इलाम अस्पतालमा कोभिडका बिरामीको समेत उपचार गर्नेगरी इन्सेन्टिभ केयर युनिट (आइसियु) सहित २ वटा बेड तयार गरी आजैबाट उपचार सुरु हुने भएको छ।

अस्पतालका व्यवस्थापक खतिवडाका अनुसार ३० लाख रुपैयाँ लागतमा यो तयार गरिएको हो। गम्भीर प्रकृतिका संक्रमित बढ्दै जान थालेपछि आइसियु संचालन गर्न लागिएको खतिवडाले जानकारी दिए।

आइसियुमा राखिएका बिरामीलाई भेन्टिलेटर आवश्यकता पर्न सक्छ। कोरोना कहर सुरु हुनुभन्दा अघि भेन्टिलेटरको प्रयोग कम मात्रामा हुँदै आएको थियो। तर कोरोना बढ्दै गएपछि भेन्टिलेटरको मागसमेत बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.