|

कास्की : गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ। 

नवगठित मन्त्रीपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ।

मन्त्रीपरिषद् बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई चयन गरेको छ। यसैगरी प्रदेश तथा नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरधारी शर्मा र सदस्यमा डा. विष्णुराज बराललाई निरन्तरता दिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा लगत्तै उनीहरू पनि पदमुक्त भएका थिए। मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा लमजुङको सुन्दरबजार नगरपालिका–३ निवासी डा. भीष्म अधिकारीलाई नियुक्त गरिएको छ।

बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७४ लाई संशोधन गरी मन्त्रालयहरू फेरबदल गर्ने निर्णय गरेको थियो। विगतमा मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेकामा यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय बनाइएको थियोे। अहिले पुनः तीन मन्त्रालय थप गरेर मन्त्रालयको सङ्ख्या ११ पुर्‍याइएको छ।

मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावलीलाई संशोधन गरेर मन्त्रालयको सङ्ख्या वृद्धि गरेलगत्तै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मौजुदा मन्त्रीपरिषद्मा हेरफेर गरी कार्यविभाजन गरेकी थिइन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.