रोल्पा : कोरोनाका कारण नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिसरा घर्तीमगरको मृत्यु भएको छ। घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो।
माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत संघसंस्थामार्फत सामाजिक सेवामा पनि आवद्ध थिइन्। कोरोना संक्रमणपछि उनलाई गत जेठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो। रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिस गरिएको थियो। बेलझुण्डी अस्पतालमा उपचाररत घर्तीको बिहान ५ बजे मृत्यु भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दि)ए।
कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुन्। यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या ५३८ रहेको छ। तीमध्ये ८३ जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा रहेका छन् भने ४५० जना होमआइसोलेशनमा रहेका छन्। संक्रमितमध्ये ६५ निको भइसकेका छन्। जिल्लामा आइसियु र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुन सकेको छैन। जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या देखिँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।