|

काठमाडौं : दोस्रो लहरको कोरोना भाइरसकाे संक्रमण तीव्र रुपमा फैलिएपछि सम्पुर्ण शैक्षिक गतिविधिहरु ठप्प छन्। वार्षिक परीक्षाकाे मुखैमा सरकारले निषेधाज्ञा लागू गर्दा शैक्षिक तालिका सवै प्रभावित भएका छन्। जसले नयाँ शैक्षिक सत्रमा समेत असर पुग्ने देखिन्छ। भाैतिक उपस्थितिमै पढाइ र परीक्षा संचालन गर्न असम्भव भएपछि उपत्यकाका केही निजी विद्यालयले अनलाइन मार्फत वार्षिक परीक्षा संचालन गरिरहेका छन्।

उपत्यकाका तीन जिल्लाका करिब ७० प्रतिशत निजी विद्यालयले अनलाइनबाट वार्षिक परीक्षा संचालन गरिरहेकाे निजी विद्यालयका संचालकहरुले बताएका छन्।निजी विद्यालयहरूले कक्षा-८ बाहेकको अन्य कक्षाका परीक्षा संचालन गरे पनि सामुदायिक विद्यालयहरूले भने अनलाइन माध्यामबाट परीक्षा लिन सकेका छैनन्। यसका लागि सम्बन्धित स्थानीय तहले केही निर्णय नगर्दा परीक्षामा अन्योलता छाएकाे छ। 

उपत्यकाका प्रमुख तीन वटा स्थानीय निकाय मध्ये काठमाडाैं महानगरपालिका बाहेक अन्य ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले भने परीक्षा बारे कुनै निर्णय गरिसकेका छैनन्। 

काठमाडौं महानगरपालिकाले भने कक्षा ८ सहित अन्य कक्षाकाे परीक्षा वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने निर्णय गरेको छ। महानगरपालिकाले वैशाख २ गते सार्वजनिक गरेको सूचना अनुसार ८ को परीक्षा बाहेक अरु कक्षाका परीक्षा जेठ २० गतेसम्ममा सकाई जेठको मसान्त सम्ममा निजी तथा सामुदायिक विद्यालयले नतिजा प्रकाशित गरेर असार पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएको छ। 

कक्षा–८ को परीक्षा वैकल्पिक विधिबाट मूल्यांकन गरी जेठ २५ गतेसम्म महानगरपालिकाकाे शिक्षा विभागको वेबसाइटमा मूल्यांकन विधि विवरण पेश गर्नुपर्ने छ।ललितपुर महानगरपालिकाका शि‍क्षा विभाग प्रमुख महेन्द्र बहादुर क्षेत्रीले काेराेना महामारीकाे समयमा परीक्षा नै संचालन गर्ने अवस्था नभएकाले आन्तरिक मुल्यांकनका आधारमा नतिजा प्रकाशित गर्ने विषयमा छलफल भइरहेकाे बताए। सामुदायिक र निजी दुवै खालका विद्यालयलाई मध्यनजर गरेर सम्भवत भाेलि सम्ममा निर्णय हुने उनले जानकारी दिए।

भक्तपुर नगरपालिकाका शिक्षा विभाग प्रमुख हरिप्रसाद निरौलाले कोरोनाले रोकिएको परीक्षा कुन माडालिटीमा संचालन गर्ने भन्ने विषयमा अझैं निर्णय लिन नसकेको बताए। उनले भने,‘आज चागुनारायण नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकासँग भर्चुअल बैठक बसेकाे थियो,बैठकमा एकरुपतामा परीक्षा लिन नसकिने भयो। कुनै विद्यालयले त्रैमासिक लिएका रहेछन् कुनै जलिएको पाइयाे। त्यसैले कसरी गर्ने भन्ने विषमा ठ्याक्कै निर्णय हुन सकेन,छलफल मै छौं,तीन दिनपछि सम्भवत निर्णय गर्छाै।’

गोकर्णेश्वर नगरपालिका शिक्षा विभागका प्रमुख टेकेन्द्र ढकालले पनि कोरोनाले स्थगित कक्षा-८ काे परीक्षाको विषयमा केही निर्णय नगरिएको बताउँछन्। ‘कक्षा ८ बाहेक अरु कक्षाकाे भने आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्र वैकल्पिक माध्यामबाट सुरु गर्नु भनेका छौ,कक्षा ८ को भने १५ दिनपछि मात्र निर्णय गर्छौ,’ढकालले भने। 

‘पहिला जीवनको रक्षा गरौ, परीक्षा गराउने हतार नगरौं’

यता,अभिभावकहरूले भने पहिला परीक्षा भन्दा पनि जीवन रक्षा गरिनुपर्ने बताएका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी भन्छन्,‘उपत्यकामा नै प्राय प्रत्येक एक परिवारका एकजना सदस्यलाई कोरोना संक्रमण भएको छ, बालबालिकाहरु पनि संक्रमित छन,कति मान्छेहरु उपचार नपाएर मरिरहेका छन्, त्यसैले पहिला मान्छेको जीवन रक्षा गरौँ,परीक्षा लिने हतार नगरौँ।’

उनका अनुसार कतिपय विद्यार्थीहरु गाउँ गएका छन्। त्यसैले उपयुक्त समय मिलेमात्र अनलाइन माध्यामबाट परीक्षा लिनुपर्ने उनले बताए। ‘शिक्षकहरु पनि संक्रमित भएका छन्, हामीले शिक्षा मन्त्रालय र सम्बन्धित निकायलाई पनि भर्चूल बैठक बसी वैकल्पिक माध्यमबाट सक्नेले परीक्षा सञ्चालन गर्ने, नभए परीक्षामा हतार नगर्न, परीक्षा लिने भए उपयुक्त समयमा वैकल्पिक माध्यमबाट मात्र सञ्चालन गर्ने सुझाव दिएका छौ,’भण्डारीले भने।

उनका अनुसार उपत्यकामा प्राय निजी विद्यालयले वार्षिक परीक्षा अनलाइनबाट लिइरहेका छन्। कतिपयले परीक्षा सकाएर नयाँ शैक्षिक सत्र सेसन समेत सुरु गरेका छन्। तर, सामुदायिक विद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गरेका छैनन्। पढाई पनि सुचारु गरेका छैनन्। कक्षा-१२ को हकमा अझैं एक महिना पछि मात्रै सरकारले निर्णय लिनुपर्ने सुझाव उनको छ। 

प्याब्सन भन्छ : वैकल्पिक माध्यमबाट मात्र परीक्षा गराउन सकिन्छ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरी वैकल्पिक माध्यम बाहेक अरु माध्यमबाट परीक्षा लिन सकिने सम्भावना नरहेको बताउँछन्।

उनले भने,‘अहिले पनि कोरोना संक्रमणदर घट्न सकेको छैन,काठमाडौ महानगरपालिकाले वैकल्पिक माध्यमबाट परीक्षा गराउनु भनेर निर्णय गरेको छ,यो राम्रो हो,यो अवस्थामा वैकल्पिक माध्यमबाहेक अरु केही विकल्प छैन।’

देशभरका स्थानीय तहले पनि वैकल्पिक माध्यामबाट परीक्षा गराउन भनी निर्णय गर्न उनको माग छ। उनका अनुसार यो संक्रमणको बेला मूल्यांकन विधिबाट नतिजा प्रकाशित भएमा ग्रामिण भेगमा समेत समस्या आउँदैन। गाउँमा गएका विद्यार्थीहरुलाई पनि सहज हुने छ। त्यस्तै शैक्षिक सत्रमा समेत असर नपुग्ने उनकाे भनाइ छ।

उनले अहिले उपत्यकामा ७० प्रतिशत निजी स्कुलले अनलाइन परीक्षा लिएको जानकारी दिए। सरकारले कोरोना कारण २०७७ को शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याएकाे छ भने ०७८ को भने  घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरेकाे छ। शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तमा कायम गरिएको छ।

काठमाडौंको कालीमाटीस्थित नील बाराही माविका प्रधानाध्यापक डा.जानुका नेपालले महानगरपालिकाकाे निर्देशन अनुसार वैकल्पिक माध्यमबाट परीक्षा संचालन गरे पनि कतिपय विधार्थी गाउँ गएकाले समस्या भएकाे बताइन्। 

भौतिक उपस्थितिमा जस्तो वैकल्पिक माध्ययम प्रभावकारी नभएकाे उनले बताइन्।बाराही माविले अहिले कक्षा ६,७ र ९ को परीक्षा वैकल्पिक माध्यामबाट संचालन भइरहेकाे छ। २० प्रतिशत नम्बरका लागि टेलिफोनबाट विधार्थीलाई सीपमुलक कुराहरुको प्रश्न सोधिएको छ।

नेपालले भनिन्,‘गाउँमा भएका विधार्थी र अभिभावक फेल हुन्छन की भनेर डराइरहेका छन्, डर मान्नु पर्दैन, हामी उपयुक्त रुपले सोधेर परीक्षाको मुल्यांकन गर्ने छौ।’ उनले कक्षा ८ को पनि वैकल्पिक माध्ययमबाटै लिने तयारी थालेको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.