|

काठमाडौं : चन्द्रागिरि नगरपालिका थप दुई दिन सिल गरिने भएको छ। काठमाडौं उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म सिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन सिल गर्ने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका सिल गर्ने निर्णय गरेको जानकारी दिए। नगरपालिका सिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँड्डुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ। नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए। 

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ। त्यसैगरी, पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहोरमैला बोक्ने सवारी साधनलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ। 

नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ। अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ।

नगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन। सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.