शवकै कारण बिरामीको मनोबल घट्न थाल्यो

|

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत ५९ वर्षीया सीता गुरुङले बिहीबार साँझ छोरालाई आइसियु कक्षमै बोलाइन्।कोरोनाले गालेर अस्पताल भर्ना भएकी छन् उनी। आइसियु कक्षमै बोलाउँदा छोरा दिवस आत्तिँदै पुगे।

अस्पताल बाहिर बसिरहेका दिवस आइसियु कक्षमा पुग्नासाथ सीताले आफूलाई अस्पतालबाट जतिसक्दो घर लैजान भनिन्। कारण थियो, छेउमै भइरहेको मृत्युको दृश्य। 'मलाई यहाँ नराख्, घर लैजा बाबु, बरु म घर गए भने बाँचौंला, यहाँ बसें भने त मर्छु,’ सीताले छोरा दिवससँग भनेकी थिइन्। 

​बिहीबार राति हेटौंडा अस्पतालको आइसियु कक्षमा हेटौंडा-६ का ७४ वर्षीय वृद्धले छट्पटिँदै देहत्याग गरेको देखेपछि सीता आत्तिएकी थिइन्। 

ती वृद्ध संक्रमितको राति ११ः४५ मा मृत्यु भएको थियो। तर शव भने शुक्रबार बिहान ७ बजेपछि मात्रै उठेको थियो। रातभर मृतक देख्नुभन्दा आफ्नै घर जाँदा सकस नहुने सीतालाई लागेको थियो।

अस्पताल भर्ना भएको तीन दिनमै आँखै अगाडि ३ संक्रमितको मृत्यु भएको देखेकी सीतालाई आफ्नो छेउमा रातभरि बस्ने कोरोना संक्रमितको शवले डराएको दिवस बताउँछन्।

संक्रमितको शव छेउमा राखिएको र त्यो देखेर आमालाई रातभर निद्रा नलागेको दिवस बताउँछन्। यसरी मृतकलाई रातभर अस्पताल राख्दा जिउँदाको मनोबल गिर्ने दिवसले बताए। 

आमाकै छेउमा उपचार गराइरहेका संक्रमितको मृत्युको खबर सुन्दा आफूलाई पनि डर लाग्ने गरेको दिवसको भनाइ छ। 'हामी अस्पताल बाहिर बसेकालाई त हाम्रो मान्छेलाई त केही हुने होइन नि भन्ने डरले सताउँछ। झन् त्यहाँका बिरामी शवसँगै राखेको कोठामा कसरी बस्न सक्छन्?' उनले प्रश्न गरे।

राति मृत्यु भएको शवलाई राति नै त्यहाँबाट बाहिर निकालेर उपचाररत बिरामीलाई मानसिक परामर्श दिनुपर्ने उनले सुझाए। 'शव राख्नलाई त छुट्टै कोठा बनाए हुने नि। उपचारको क्रममा कुनै संक्रमितको मृत्यु भएमा त्यहाँ उपचाररत अरु संक्रमितलाई थाहा नदिई शव कक्षमा लगेर राखे त हुन्थ्यो। ’गुरुङको सल्लाह थियो।  

अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत राजमति श्रेष्ठलाई पनि रातभरि निन्द्रा परेन। यसै त कोरोनाले कमजोर बनाएको शरीर त्यसमाथि कोरोना  संक्रमितको मृत्यु। यताउता छट्पटाउँदै उज्यालो बनाएकी उनले बिहान इमर्जेन्सी कक्षमै कोरोना संक्रमितको मृत्यु भएको देखिन्।

'अस्पताल आएको आधा घण्टा जतिमा नै उहाँको मृत्यु भएको थियो, तर शव उठाउन भने कति घण्टा लगाएको हो? मृत्यु भएको देखेरै हामी आत्तिरहेको थियौं झन् उहाँलाई धेरै समयसम्म हाम्रो आँखा अगाडि राखियो। आउदा कोरोना केही होइन भनेर आएकी मलाई अहिले भने डर लागिरहेको छ।’ उनले भनिन्।

सीता र राजमती त दुई पात्र हुन् मात्रै यस्ता समस्या भोग्ने। पछिल्लो समय कोरोना संक्रमणबाट हेटौंडामा ज्यान गुमाउनेको संख्या बढेसँगै अस्पतालमा उपचाररत संक्रमित प्रत्येक दिन शवसँगै त्रासपूर्ण बाँचिरहेका छन्।

अस्पतालमा उपचार गराइरहेका केही संक्रमितले आफ्नो मनोबल उच्च बनाइराखे पनि आफू जुन रोगसँग लडिरहेको छ, त्यही रोगबाट मृत्यु भएको शवलाई रातभरि एउटै वार्डमा राख्दा अधिकांशको मनोबल गिर्ने गरेको बताउँछन्।

 हेटौंडा अस्पतालमा दोस्रो चरणको कोरोना भाइरसबाट हालसम्म ३७ जनाले ज्यान गुमाइसके। तीमध्ये धेरैको मृत्यु राति नै भएको छ।

बिहान ७ बजेदेखि राति ९ बजेसम्म कोरोना संक्रमितको मृत्यु भएमा नेपाली सेनाको शव व्यवस्थापन टोली आएर शवलाई व्यवस्थापन गर्ने गरेको छ। तर राति ९ बजेपछि कुनै संक्रमितको मृत्यु भएमा भोलिपल्ट बिहान मात्रै त्यसको व्यवस्थापन हुने गरेको अस्पतालका कोभिड-१९ फोकल पर्सन सागर काफ्लेले बताए।

'राति ९ बजेसम्म मृत्यु भएमा नेपाली सेनाको टोली आएर शवको व्यवस्थापन गर्नुहुन्छ। ९ बजेपछि कसैको मृत्यु भयो भने उहाँहरू आउन मिल्दैन भन्नुहुन्छ, हामीले पनि शवलाई चलाउन मिल्दैन। त्यसैले हामी जुन वार्डमा उपचारको क्रममा मृत्यु भएको हो त्यहीँ नै हरियो पर्दाले छेकेर राख्छौं,’ काफ्लेले भने।

उनले उपचार गराइरहेकै वार्डमा रातभरि शव राख्दा बिरामीको मनोबलमा असर पार्ने भएकोले आफूहरूले केही समय परामर्श दिने गरेको बताए। 'हामीलाई थाहा छ, अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भए बिरामीलाई डर हुन्छ, त्यसमा पनि रातभरि वार्डमै शव राख्दा उहाँहरूको मनोबलम घट्छ। त्यसैले हामीले उहाँहरूलाई तपाई आत्तिनु पर्दैन, तपाईंहरूको अवस्था एकदम राम्रो छ भन्छाैं,काउन्स्लिङ गर्छौ। बाँकी शव त्यहाँबाट उठाउने  काम त हामीले गर्न मिल्दैन।’

नेपाली सेनाको सुपारेटार ब्यारेकका प्रमुख सेनानी राजेश थापाले नेपाली सेनाले राति ९ बजेसम्म मृत्यु भएकाको मात्रै शव व्यवस्थापन गर्न तत्काल जाने गरेको बताए।

राति ९ बजेपछि कुनै संक्रमितको मृत्यु भएमा सेनाको शव व्यवस्थापनको टोली भोलिपल्ट बिहान पुगेर मात्रै उठाउने गरेको उनले बताए। 'पहिला त अझै हामीले राति ८ बजेसम्मको मात्रै शव व्यवस्थापन गर्ने गरेका थियौं तर अहिले हामी ९ बजेसम्म भए पनि अस्पताल पुग्छौं। त्यसपछि भने हामी भोलिपल्ट बिहान मात्रै जान्छौं,’उनले भने।

राति शव व्यवस्थापन गर्न जाँदा धेरै नै ढिलाइ हुने हुने बताए। शव व्यवस्थापन गर्न पुग्दा शवको आफन्त आउन बाँकी हुने र अन्य कागजी प्रक्रिया पुर्‍याउन ढिलाइ हुँदा पनि राति शव व्यवस्थापन गर्ने नगरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.