यो पटकको लकडाउनमा कतैबाट पनि राहत नपाएको गुनासो

|

जनकपुरधाम : ‘छोराछोरी पाल्नु पर्ने बाध्यता छ, अहिलेसम्म घरमा केही बचत थियो, खायौं। अब आउने दिनमा जीवन कसरी चलाउनू?’ भावुक भएर दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आएकी धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडियाकी मर्निदेवी सदाले दुःख सुनाइन्।

‘गाडीमा खानेकुराका सामान ओसारपोसार गर्ने काम गर्थ्याैं, परिवार पाल्न सजिलो थियो, काम नपाएको १५ दिन बितिसक्यो, अब खानकै पीरले चिन्ता थपिएको छ,’ महोत्तरी बर्दिबास नगरपालिका-३ गौरीडाडाका हरि बलम्पाकीले दुखेसो पोखे।

बलम्पाकी मालसामान बोक्ने सानो पिकअप गाडी चलाउने काम गर्छन्। साथमा परिवार पनि छन्। ‘भाडाको बसाइ। काम नपाएर थलिएको १५ दिन बित्यो, कोठामा खानलाई चामलसमेत छैन, उधारो कसैले दिँदैनन्, कोरोनाभन्दा बढी चिन्ता भोको पेट कसरी भर्न सकिएला भन्ने लाग्ने गरेको छ। दिनचर्या पहिलेजस्तो सहज छैन,’ उनले निषेधाज्ञापछिको दुःख सुनाए। 

‘निषेधाज्ञाले काम गर्न पाइएको छैन, दाउरा बेचेर गुजारा चलाएका छौं’, महोत्तरीको बर्दिबास नगरपालिका– ३ गौरीडाँडाका इखबहादुर दर्नालले भने, ‘खेती गरौं भने जग्गा छैन, जंगलबाट दाउरा काटेर बेच्दै छु। राहत बाँड्न पनि कोही आएनन्, अब त रोगभन्दा पनि भोकले मर्ने अवस्था आयो।’

बाहिर काम गर्ने उनका छोराहरू लकडाउनले घरमै बसेर दिन बिताउनुपर्ने भएको छ। जसका कारण छाक टार्न समस्या भएको उनले पीडा सुनाए। इखबहादुरले भने, ‘कोरोनाको त्रासपछि बजार बन्द। परिवारमा रोगभन्दा भोकले चिन्ता थपेको छ।’

निषेधाज्ञाका कारण सरकारी तथा गैरसरकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्ण रुपमा बन्द छन्। आर्थिक कारोबार ठप्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ। समग्रमा कोरोना संक्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रास आएको छ।

धनुषा–महोत्तरी जिल्लाको हकमा बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा दैनिक उपभोग्य सामानका पसल सञ्चालन गर्न दिइएको छ। त्यो पनि व्यापारीले फाटफुट रुपमा मात्र खुला गर्ने गरेका छन्।

धनुषामा वैशाख २१ र महोत्तरीमा २२ गतेदेखि सम्पूर्ण कामकाज र व्यापार व्यवसाय निषेधाज्ञाका कारण ठप्प छ। जसको प्रत्यक्ष मारमा दैनिक ज्याला मजदुरी गर्नेहरू परेका छन्। दैनिक रुपमा ज्याला मजदुरी गरी खानेहरूका लागि निषेधाज्ञाले संकट नै सिर्जना गरेको छ। कोरोनाको त्रास एकातिर छ, भने अर्कातिर उनीहरूलाई खान बस्नको समस्याले तनावमा छन्।

कोरोना महामारीको दोश्रो लहरले दिन दिनै संक्रमणमा वृद्धि भएर सबैतिर त्रास छ। दैनिक कयौंले ज्यान गुमाइरहेका छन्। त्यसकै जोखिम घटाउन सरकारले निषेधाज्ञा लम्ब्याइरहेको छ।

खेती किसानी गर्ने, व्यापार व्यवसायमा संलग्नहरूका लागि थप आम्दानी र कारोबारमा मात्र समस्या छ, तर ज्याला मजदुरी गर्नेहरूका हकमा भने साँझ-बिहान के खाने भन्ने मै चिन्ता छ। भारी बोके मात्र पेट भर्ने मजदुरका लागि रोगको संक्रमणभन्दा भोककै चिन्ता लाग्ने गरेको मजदुरहरूको दुखेसो छ।

यस्तो छाक टार्ने समस्या जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबाससहित बजारमा ज्याला मजदुरी गर्नेहरूको साझा समस्या हो। उनीहरूका लागि आफू मात्र पालिनुपर्ने अवस्था छैन। आफूसँगै सन्तान र परिवारको पनि जिम्मा छ।

‘श्रीमान् प्रदेशमा छन्, साथमा भएका बालबच्चा पाल्नुपर्ने जिम्मेवारी छ, दुःख कसलाई सुनाउनू’, मिथिला नगरपालिका–२ नक्टाझिजकी लक्ष्मीमाया परियारले निषेधाज्ञाप्रति आक्रोश पोखिन्।

बजारमा डेरा गरी बस्दाको समस्या मजदुरलाई झन बढी छ। बस्नदेखि खान समस्या सबै ज्याला मजदुरी गर्नेहरूका साझा छन्। गाडी बन्द छन्, पसल खोल्दैनन्, भारी बोक्न पाइँदैन, निर्माणका काम रोकिएका छन्। आफूहरूका बारे सरकारले केही नसोचेको गुनासो क्षीरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरकी जरिना खातुनको पनि छ। 

क्षीरेश्वरनाथ-५ को मुख्य बजार महेन्द्रनगरमै भारी भोकेरै परिवार पाल्ने जरिना कोरोनाभन्दा काम नपाएकोमा बढी चिन्तित छिन्। भन्छिन् , ‘काम नपाएर खान समस्या भएको छ। वरिपरिकामा मागेर खानु परेको छ।’

अटो चलाएर घर गुजारा चलाउँदै आएका क्षीरेश्वरनाथ-६ कुचाई टोलका रजाबुल अन्सारीलेको दुःख पनि उस्तै छ। भन्छन्, ‘बन्दकै बीच ईद मनाइयो, अब जहान परिवारको गुजारा कसरी चल्छ भन्ने कुराले पिरोलिरहेछ।’ रजाबुल जस्तै अटो चलाएर गुजारा चलाउने सो बस्तीमा २० भन्दा बढी छन्।

यसअघि गत वर्ष कोरोना महामारी कालमा थोर बहुत राहत दिन र सोधपुछ गर्न स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका कोहीकोही आउने गरेको सम्झँदै विपन्न, गरिब, दलित बस्तीका बासिन्दा यसपालि कोही फर्केर नआएका उनले गुनासो गरे। 

मिथिला नगरपालिका-६ ढल्केवरको रामसरोज महरा निषेधाज्ञाले बजार बन्द हुँदा कतै निस्कने अवस्था नभएको र घरमा अन्नपात रित्तिँदै गएपछि चिन्तामा छन्।

दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका मजदुरहरू घरमै थन्किएका छन्। भारतबाट रोजगारी गुमाएर आफ्नो ठाउँ फिर्ता भएका श्रमिकलाई अब कसरी गुजारा टार्ने भन्ने चिन्ता बढेको छ।

कोरोना महामारीको दोश्रो लहर नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेपछि यहाँका गरिब बस्तीमा गुजाराको संकट बढेको छ। दैनिक ज्यालादारी गरेर जीविका चलाउने कामदार, रिक्सा, अटो र ठेला चलाउने र परिवार पाल्न सधैं काममा निस्कनुपर्ने नागरिक घरमै थन्किएका छन्।

ज्याला मजदुरी, बनिबुतो गर्नेलाई परेको समस्याबारे भने स्थानीय प्रशासन र पालिकाहरू जिम्मेवार बन्नु पर्ने सुझाव नागरिक अगुवाहरूको छ।

स्थानीय समाजसेवी नीलबहादुर लुम्रेले भने, ‘जेठको महिना दिन लामो हुन्छ, प्रचण्ड गर्मी छ। त्यसमाथि भोकले सताउँछ। त्यसैले ज्याला मजदुरी गर्नेहरूका हकमा भने राहत अति जरुरी हो।’

उनले स्थानीय तहले आफ्ना नागरिक कुन अवस्थामा छन्, तथ्यांक संकलन गरेर अवस्था पहिचान गरी राहत दिन सके केही हदसम्म समस्या हल हुन सक्ने उनलाई लागेको छ।  

प्रदेश २ को गरिबीको मारमा

धनुषा–महोत्तरी मात्र नभएर प्रदेश २ का आठ वटै जिल्ला गरिबीको जाँतोमा पिसिएका छन्। अन्य प्रदेशभन्दा बढी गरिबी प्रदेश–२ मा रहेको तथ्यांक छ। प्रदेश– २ को नीति आयोगले सार्वजनिक गरेको प्रतिवेदनमै यो तथ्य स्वीकार गरिएको छ।

शिक्षा, स्वास्थ्य, सन्तुलित भोजनजस्ता आधारभूत पक्ष कमजोर रहेको प्रदेश २ मा गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक निकै कमजोर रहेको प्रतिवेदनमा देखाइएको छ।

प्रदेश– २ को नीति आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गरिबीको दर उच्च रहेको र मानव विकास सूचकांक पनि निकै खस्किएको छ। प्रदेश २ का जिल्लाहरूमा बहुआयामिक गरिबी दर झन्डै ४९.९ प्रतिशत छ। गाँसबास र कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ।

यो परिवेशबीच निषेधाज्ञासँगै गरिबका लागि भरणपोषणको वैकल्पिक उपाय अवलम्वन गर्न आवश्यक भए पनि त्यतातर्फ तीनै तहका सरकारको चासो देखिएको छैन।

अर्थशास्त्रीसमेत रहेका लाभले भने, ‘महामारी छल्ने एक उपाय निषेधाज्ञा त अनिवार्य नै हो तर, निषेधाज्ञा घोषणासँगै गरिबका लागि भोको बस्न नपर्ने विकल्प कमसेकम तीनै तहको सरकारले दिन सक्नुपर्थ्यो।’

महामारीको त्रासबीच काम खोसिएर पेटमा दाना पर्न छाडेपछि अर्को कहाली लाग्दो अवस्था आउनसक्ने अवस्थाको सिर्जना हुनेमा बुद्धिजीवीहरूले चिन्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.