|

सप्तरी : हावाहुरी आए भत्किएला झैँ झुप्रो छ।

पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ।

त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्छिन्‌। एउटीको थर दास हो भने अर्कीको चौधरी।

दुबैको मुहार हिजोआज मलिन छ।

सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उहाहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन्।

एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ। प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन्। 

राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो। विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ।

केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरबारविहीन भयो। सासुले त उनको अर्को भाइकहाँ शरण पाइन्‌। तर, नवविवाहिता उनले सहारा पाइनन्‌।

श्रीमान सन्तोष साहुजीको पसलमा मीठाइ बनाउँथे र केही रकम हात लाग्थ्यो। दासका अनुसार उनी पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्थे। दास भन्नुहुन्छ,‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो।’

गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उहाँ सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिनु हुन्छ। गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उनले सुनाइन्‌। 

सानै उमेरमा विवाह गरी आमा बनेकी दासले रोजीरोटीका लागि तरकारी बेचिन्‌। रोजगारी तथा कमाइ खान तरकारी बेच्ने व्यवसाय उनको लागि सुरक्षित भएन। तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उनलाई समस्या भयो। पछिल्लो समय उनी होटलमा भाँडा माझ्ने काम गर्छिन्‌।

​तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो। एउटै नाम भएका उनीहरूको चिनजान मित्रतामा परिणत भयो।

सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए। श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बनेकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आइएकी थिइन्‌। भवन निर्माणको ज्याला मजदुरीको काम दैनिक रूपमा नपाएपछि उहाँ स्थायी कामको खोजीमा थिइन्‌।

यस काममा दासले सघाइन्‌ र उनलाई पनि होटलमा सँगै काम दिलाइन्‌। बिहान ७ बजे होटल जाने गरेका उनीहरूले राति साढे ९ बजे छुट्टी पाउँछन्‌। दुबै जनाले महिनाको सात/सात रुपैयाँ हजार पाउनु हुन्छ। खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थालेका हुन्‌।

​उनीहरूले काम गर्दै आएको होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ। बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उनीहरूलाई छुट्टी दिएका हुन्। न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उनीहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ। 

उनीहरूलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ। छोरी जन्मिँदा र हुर्कँदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताइन्‌। लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको बताइन्‌। बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उनीहरूको भनाई छ।

बन्दाबन्दी भएको १७ दिन पुगेको छ। उनीहरूसँग भएको पैसा पनि सकिएको छ। उनीहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ।

पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उनीहरूलाई चिन्ता छ। चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन्। चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिग छिन्। 

होटलमा काम गर्दै आएका उनीहरूले कोभिड–१९ रोकथामका लागि शुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाएका छैनन्‌। बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ।

काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उनीहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो। त्यसैमाथि १२ वर्षीया छोरी भोकाउँदा झनै पीडा थपिने गरेको दासले बताइन्‌। आँखाभरि आँसु लिँदै दासले भनिन्‌, 'आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तड्पिएको देख्दा निकै गाह्रो हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.