|

धनगढी : नेकपा एमालेको स्थायी कमिटी बैठकले साेमबार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो। बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन पनि निर्देशन दियो।

तर उक्त निर्देशनले एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु भने अन्योलमा छन्। सुदूरपश्चिम प्रदेश सरकारमा एमाले नेता माधव नेपाल समूहका तीन जना मन्त्री छन्। ती मध्ये दुईले सरकारबाट फिर्ता हुनेबारे पार्टीले कुनै जानकारी नदिएको बताएका छन्। 

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले केन्द्रको निर्णय सुन्नमा आएको बताउँदै आज संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्ने जानकारी दिए। वन, वातावरण तथा उद्योगमन्त्री माया भट्टले सरकारबाट फिर्ता हुनेबारे केही छलफल नभएको बताइन्।

एमालेका प्रदेशसभा सदस्य दीर्घ सोडारीले केन्द्रले गरेको निर्णयबारे मंगलबार दिउँसो बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताए। तर अहिलेसम्म बैठक बस्न सकिरहेको छैन। नेताहरू अनाैपचारिक छलफलमा व्यस्त छन्। संसदीय दलको बैठकले गर्ने निर्णय नै आधिकारिक हुने सोडारीले बताए।

नेकपा एमालेको संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पार्टीको आधिकारिक निर्णय आफूहरुलाई आइनसकेको बताए। निर्णय आइसकेपछि कसरी बढ्नेबारे थाहा हुने उनले बताए। 

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकार अल्पमतमा छ।

तर नेकपा एमालेका मन्त्रीहरु सरकारबाट फिर्ता नहुने सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक अक्कल रावलको दाबी छ। उनले बहुमत सदस्यहरु माधव समूहकै रहेकाले फिर्ता नहुने बताए।

सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। हाल प्रदेश सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, वन तथा वातावरण मन्त्रीमा माया भट्ट रहेकी छिन्। तीनै जना माधव समूहका हुन्।

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित नेकपा एमालेका २५, माओवादी केन्द्रका १४ रहेकामा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री झपट बाेहरालाई कारवाही गरेपछि १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरि ५२ जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रदेशसभामा नेकपा एमालेका २५ जना सदस्य मध्ये अहिले सम्म ६ जना मात्र ओली समूहमा खुलेका छन्। सभामुखबाहेक १८ जना प्रदेशसभा सदस्य माधव समूहमा छन्।

यता प्रदेशसभामा रहेको अर्को दल नेपाली कांग्रेसले भने एमालेको निर्णय हेरेर मात्र सरकारबारे छलफल गर्ने जनाएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले अहिले नै सरकारका बारेमा छलफल नभएको बताए। उनले एमालेका मन्त्री फिर्ता भइसकेपछि छलफल गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.