|

कैलाली :  नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले  प्रदेश सरकारमा सहभागी आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। 

प्रदेश कमिटीको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै सरकारबाट बाहिरिन निर्देशन दिएका हुन्।

सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइएको सुदूरपश्चिम एमालेले जनाएको छ।

पार्टीको स्थायी कमिटी बैठकको निर्देशनबमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको सचिव रावलले थाहाखबरलाई जानकारी दिए। 
यसअघि एमाले स्थायी कमिटी बैठकले पनि सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोहीअनुरूप तीनै मन्त्रीलाई ११ जेठमा सरकारबाट फिर्ता हुने पत्र काटिएको थियो।

रावलले  भने, ‘एमालेकै नेतृत्वमा सरकार गठन गर्न मार्गप्रशस्त गर्दै आवश्यक पहलकदमी लिन भनिएको छ। जसअनुसार हामीले फिर्ता बोलाएका हौ। निर्देशन नमाने कारबाही हुन्छ।’ बुधबार तीनैजना प्रदेशमन्त्रीलाई उक्त निर्देशनपत्र थमाइएको हो।

तर, बुधबार नै बसेको एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो। केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिँदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले फिर्ता बोलाइएको तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन्। संसदीय दलको निर्णयलाई ओली पक्षका प्रदेश सभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन्।

पार्टीले निर्देशन दिए पनि मन्त्रीहरु भने सरकारबाट फिर्ता नहुने मनशायमा छन्। सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ जना सदस्य छन्।उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.