एउटा अस्पतालले पाँच लाख रुपैयाँ खाजा खर्च पाउने

|

पर्वत : गण्डकी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रदेशका ११ जिल्लाका लागि दुई करोड नौ लाख रुपैयाँ वितरण गर्ने भएको छ।

मुख्यमन्त्री गुरुङले छुट्याइएको बजेट र कार्यक्रमबारे जानकारी दिँदै कार्यान्वयन गर्न जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरू, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरू र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशकहरूलाई निर्देशन दिएका छन्।

कोभिड–१९ सङ्क्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचार सम्बन्धी बैठक नै आयोजना गरेर मुख्यमन्त्री गुरुङले कार्यक्रम कार्यान्वयनको निर्देशन दिएका हुन्।

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका अनुसार औषधि खरिदका लागि ११ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई प्रति कार्यालय पाँच लाख रुपैयाँका दरले ५५ लाख रुपैयाँ दिइने भएको छ।

अक्सिजन भर्न र त्यसको ढुवानीको लागि प्रत्येक जिल्ला स्वास्थ्य कार्यालयले पाँच लाख रुपैयाँ, कोभिड–१९ को उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन जिल्ला अस्पताललाई पाँच लाख रुपैयाँ, जनचेतना वृद्धि र खोज अनुसन्धानको लागि जिल्ला आयुर्वेद औषधालयहरूलाई दुई/दुई लाख रुपैयाँ तथा कोभिड–१९ व्यवस्थापनको लागि जिल्लामा रहेका डिसीसीएमसीहरूलाई थप दुई/दुई लाख रुपैयाँ प्रदान गर्ने मन्त्रालयले निर्णय गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिएका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरू, जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, जिल्ला आयुर्वेद अस्पतालका प्रमुखहरू र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशकहरू सहभागी बैठकमा बोल्दै मुख्यमन्त्री गुरुङले गाउँ गाउँमा एन्टीजेन परीक्षणको दायरा बढाउन र समयमै कोभिडको परीक्षण लागि कर्मचारीहरूलाई प्रेरित गर्ने, मनोबल उच्च बनाउने र समूह बनाएर गाउँमा खटाउन पनि निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.