|

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय सहिद स्मारकको भवनमा २५ शय्याको आइसोलेसन सञ्चालन गरेको छ।

नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए। सामुदायिक वनमा रहेको स्मारकका भवनमा यसअघि गत वर्ष पनि आइसोलेसन सञ्चालन गरिएको थियो।

आइसोलेसनमा गोकर्ण प्राथमिक अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा दिएको नगरपालिकाले जनाएको छ। यसैगरी लायन्स क्लबका तर्फबाट आइसोलेसनमा अक्सिजनको व्यवस्थासमेत गरिएको छ। आइसोलेसन सञ्चालन भएपछि होम आइसोलेसन नहुनेका लागि सहज भएको जनाइएको छ।

नगरपालिकामा हालसम्म चार हजार तीन सय ४८ जना कोरोना सङ्क्रमित भएका छन्। नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना फैलिएपछि दुई हजार २२ सङ्क्रमित भइसकेका छन्। गत वर्ष पहिलो चरणको कोरोनाले दुई हजार तीन सय ४८ सङ्क्रमित भएका थिए।
 
दोस्रो लहरले सङ्क्रमित भएकामध्ये एक हजार तीन सय ८९ जना घर फर्केका छन्। पाँच सय ९७ अहिले पनि सक्रिय सङ्क्रमित छन्। दोस्रो लहरको कोरोनाले नगरपालिकाका ३६ नगरबासीको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ। गत वर्ष पहिलो चरणको कोरोनाले भने २८ जनाको निधन भएको थियो। 
 
नगर क्षेत्रमा कोरोनाको लक्षण देखिएकालाई गोकर्ण प्राथमिक अस्पतालमा सोमबार र बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाउने गरिएको छ।

यसैगरी नारायणटारस्थित शङ्खरापुर अस्पतालमा बुधबार पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरिएको छ। अत्यावश्यक भई परीक्षण गर्नुपरे भने एन्टिजेन परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.