|

सोलुखुम्बु : सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं लगिएको छ। सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
    

सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए। 

मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडौं लगिएको उनको भनाइ छ। प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। 

यस्तै दुई वर्षअघि मृत्यु भएका एक अमेरीकन नागरिकको पनि शव परीक्षणका लागि काठमाडौं लगिएको थियो। हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।
     
सगरमाथा आरोहण शुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ। स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृत्यु भएको थियो।
     
यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.