|

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दोस्रो जनआन्दोलन चलिरहँदा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भनेका बेला वकिलहरू आन्दोलनमा र जेलमा रहेको बताएका छन्।​

प्रधानमन्त्री ओलीले सोमबार एमालेसम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाएका थिए।

‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालो कोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन्?’ ओलीले प्रश्न गरेका थिए, ‘यो गम्भीर विषय हो। उनीहरू न्यायाधीश छान्नेमात्र होइन, फैसला पनि हामी नै दिन्छौँ भन्दैछन्,' प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए।

उनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भैरहेको छ। कांग्रेस नेता कोइरालाले पनि सोही सन्दर्भमा प्रधानमन्त्री ओलीमाथि कटाक्ष गरेका हुन्।

डा. कोइरालाले सामाजिक सञ्‍जालमा पूर्वन्यायाधीशहरू र कानुन व्यवसायीप्रति प्रधानमन्त्रीको नकारात्मक टिप्पणीको सन्दर्भमा वकिलहरूको मानमर्दन गर्दा उनीहरूको लोकतन्त्रप्रतिको निष्‍ठामा चोट पुगेको धारणा राखेका छन्। साथै, वकिलहरूको योगदान नभुल्न पनि उनले आग्रह गरेका छन्।

'हामी सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो, तर ती सबै वकिलहरू कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए। आज ती वकिलहरूको मानमर्दन गर्दा उनीहरूको लोकतन्त्र प्रतिको निष्‍ठामा चोट पुगेको छ। कति चाँडै बिर्सन सकेको उनीहरूको योगदान?,' डा. कोइरालाले लेखेका छन्।

तानाशाहहरूको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानुनपर्ने भन्दै डा. कोइरालाले नेपालमै सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपाल गणतन्त्रमय हुन नसक्ने पनि उल्लेख गरेका छन्। उनले पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा प्रधानमन्त्रीलाई स्मरण गराउन चाहेको पनि लेखेका छन्।

'मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरू प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो। सजग बनौँ, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं,' उनले लेखेका छन्।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.