|

सोलुखुम्बु : कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्न  स्थानीय तहहरूलाई मुस्किल परिरहेको बेला सोलुदूधकुण्ड नगरपालिका–२ मा भने मजबुत पूर्वतयारी भएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणको पूर्वतयारीमा आफूहरू मजबुत ढंगले बसेको वडा अध्यक्ष मिङ्‌मार दोर्जी शेर्पाले बताए। उनका अनुसार अब स्वाब संकलनदेखि बिरामीको उद्धार तथा तत्काल गरिने उपचारको लागि वडाभित्र कुनै समस्या हुनेछैन। 

हाल उक्त वडामा पीसीआर परीक्षण गर्न स्वाब संकलन निम्ति चाहिने २५० र एन्टिजेनका लागि ४० वटा कीट तयारी अवस्थामा राखिएको छ। यस्तै, दुई शय्याको फिबर क्लिनिक, एउटा एम्बुलेन्ससहित ४ वटा अक्सिजन सिलिण्डर र ८ वटा कन्सन्ट्रेटर पनि तयारी अवस्थामा रहेको शेर्पाले जानकारी दिए। 

विभिन्न परियोजनाको सहयोग जुटाएर वडाले कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरेको शेर्पाले बताए। अहिले उक्त वडामा आफ्नै एक जना ल्याब टेक्निसियन रहेकाले आफैले स्वाब संकलन गर्नसक्ने जनाएको छ। यस्तै स्वास्थ्यकर्मीको हकमा १ जना स्वास्थ्य सहायक, एक जना अहेब, २ जना अनमी, २ जना सीएमए रहेका छन्। 

बेनी हाइड्रोपावर आयोजना पनि सोही क्षेत्रमा सञ्चालनमा रहेकाले उक्त वडा कोरोनाको उच्च जोखिममा रहेको छ। अहिलेसम्म वडा कार्यालयमार्फत स्वाब संकलन गरिएका १७ जनामध्ये ४ जनामा संक्रमण पुष्टि भएको छ भने हाइड्रोपावरले त्याहाँ कार्यरत २०४ जनाको पीसीआर परीक्षण गर्दा १७ मजदुरमा कोभिड–१९ भेटिएको वडा अध्यक्ष शेर्पाले बताए। 

कोरोनाको अवस्था जटिल हुनसक्ने भएकाले एक्सन फर नेपाल, कुशुदेवु पब्लिक हेल्थ मिसन, हिमालयन ट्रष्ट नेपाल, नेपाल मेड नेपाल लगायतको परियोजना मार्फत सहयोग जुटाएर महामारीसँग जुध्न तयारी अवस्थामा रहेको वडा अध्यक्ष शेर्पाको भनाइ छ।

'वडा भित्रका नागरिकलाई कुनैपनि स्वास्थ्य समस्या भएमा तत्काल परीक्षणदेखि उद्धार गर्ने लगायतको कार्यमा हामी तयार छौँ,' शेर्पाले भने, 'वडावासीले अकालमै ज्यान गुमाउन नपरोस्‌ भन्ने हेतुले हाम्रो क्षमता अनुसार संक्रमितलाई आवश्यक पर्ने औषधी समेत व्यवस्था गरेका छौँ।'

वडामा एकैपटक ५० जना संक्रमित भएको खण्डमा पुग्ने औषधी मौज्दात छ। जिल्ला अस्पताल फाप्लुमा स्वाब संकलन गर्नुपरेको अवस्थामा एकजना ल्याब टेक्निसियनको भर पर्नुपर्ने बाध्यता छ। तर, उक्त वडा आफैँले ल्याब टेक्निसियनको व्यवस्था गरेको छ।

जिल्लाका कतिपय स्थानीय तहमा नै स्वाब संकलन गर्ने ल्याब टेक्निसियन छैनन्। यस अघि जिल्लाका ल्याब टेक्निसियनले नभ्याउँदा ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटारबाट प्राविधिक ल्याउनुपरेको थियो। 

स्रोतसाधनकै अभावमा संक्रमितको मृत्यु

यो समाचार तयार पार्दासम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७५७ पुगेको छ।

हालसम्म जिल्लामा संक्रमण पुष्टि भएका ७ जनाको ज्यान गएको छ। उपचार क्रममा उनीहरूको ज्यान गएको हो। 

जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाका अनुसार स्रोतसाधनको अभावमा उनीहरूको ज्यान गएको छ। उपचारमा ढिला गरी आउने र अस्पतालमा पनि पर्याप्त मात्रामा उपचार सामाग्री नहुँदा समस्या भएको अस्पतालले जनाएको छ। 

जिल्ला अस्पताल फाप्लुमा उपचार संभव नभएपछि हालसम्म १६ जना संक्रमितलाई अन्यत्र रेफर गरिएको छ। जिल्लामा अक्सिजन सिलिण्डर भएपनि प्लान्ट नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुको विकल्प नभएको निमित्त प्रमुख शेर्पाको भनाइ छ।

८ स्थानीय तह रहेको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकाबाट ११ जना, खुम्बुपासाङ ल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिकाबाट २/२ जना तथा थुलुङ दुधकोशी गाउँपालिकाबाट १ जनालाई उपचारको लागि अन्यत्र लगिएको सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले जनाएको छ। 

रेफर गरिएकामध्ये ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्यलाई गाडीमार्फत लगिएको छ। रेफर गरिएकामध्ये तीन जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.