कांग्रेसले मुख्यमन्त्री दाबी गरे विकल्पको तयारी

|

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागीलगत्तै प्रदेश २ सरकारको सत्ता समीकरण परिवर्तन गर्न अहिले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर बसेर जोडतोडको साथ भिडेका छन्।

स्रोतका अनुसार पूर्व-राजपा (महन्त ठाकुर–राजेन्द्र समूह) लाई सरकारबाट हटाएर नेपाली कांग्रेस, माधव नेपाल समूहका एमाले र माओवादी केन्द्रलाई लिएर सरकार पुनर्गठन गर्ने तयारी रहेको छ तर नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी गर्दै आएको र जसपा अध्यक्ष अहिले राउतकै नेतृत्वमा सरकार पुनर्गठन गर्न खोजेको हुँदा विकल्पसमेत खोजी गर्न थालिएको छ।

यादवनिकट नेताहरुको भनाइअनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीको घुर्की देखाए एमाले (माधव नेपाल समूह) र माओवादीकै समर्थनमा सरकार बनाउने जसपाको तयारी रहेको छ।

कांग्रेसबाहेक पनि मत पुग्‍ने

सरकार बनाउन चाहिने ५३ जना सभासद पूर्व-राजपाका १३ जनाले साथ छाडे माओवादी केन्द्र र एमालेलाई साथ लिएर बनाउने तयारीमा यादव समूह रहेका छन्।

प्रदेशमा पूर्व-राजपाका नवकिशोर साह र रामनरेश यादव अहिले यादव पक्षमा लागेको हुँदा २ र पूर्व-समाजवादीको ३० सहित ३२, एमालेको माधव समूहका १३, माओवादी केन्द्रको ८ र १ जना स्वतन्त्र सभासदसहित ५४ जना सभासद पुग्ने भएको हुँदा नेपाली कांग्रेससँग कुरा नमिले पनि सरकार पुनर्गठन हुने लगभग पक्का भएको छ। यदि कांग्रेस सहमत भए १९ जना थप सांसद हुनेछन्।

सबै किसिमको विकल्पबारे घनिभूत छलफल भइरहेको स्रोतको भनाइ छ। प्रदेश २ का ६ मन्त्रालयलाई १० बनाएर कांग्रेसलाई २, एमाले र माओवादी केन्द्रलाई १–१ मन्त्रालय दिने तयारी भएको बताइएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग, पर्यटन वन तथा वातावरण, सामाजिक विकास, भौतिक पूर्वाधार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई विभाजन गर्ने जसपाभित्र छलफल भइरहेको स्रोतले जनाएको छ। जसपाबाट वर्तमान सरकारमा रहेका प्रायजसो मन्त्री नै दोहोरिने र केही थप्ने विषयमा समेत छलफल भएको नेताहरुबाट बुझिएको छ।

​नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग प्रदेश २ को सत्ता समीकरणबारे शुक्रबार छलफल गरी उपेन्द्र यादव जनकपुर आइपुगेका हुन्। पूर्व राजपालाई सरकारबाट हटाउने तयारी गरिसकेका यादवले प्रदेश २ को नीति तथा कार्यक्रम र बजेट पास गराउन कांग्रेस, माओवादी केन्द्र र एमालेको साथ पाउने वातावरण तयारीमा जुटेका छन्।

जसपा अध्यक्ष यादवसँगको छलफलमा उपसभापति निधिले मुख्यमन्त्री नै दिनुपर्ने तर्क राखेका थिए। प्रदेशमा संसदीय दलका नेता रामसरोज यादवले पनि गठबन्धन सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्ने बताउँदै आएका छन्।

स्रोतहरुका अनुसार प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीको दाबी गरे पनि उपमुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिनेमा सहमत हुनेछ। कांग्रेसले सरकारमा २ वटा मन्त्रालय पाउनेछ।

मुख्यमन्त्री फेर्नुपर्ने दबाब

त्यसैगरी माओवादी केन्द्रले एउटा र एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल समूहले एउटा मन्त्रालय पाउने बताइएको छ।

अर्कोतर्फ सरकारमा जसपालाई सघाउने कांग्रेस, माओवादी केन्द्र र एमालेका सभासदहरुले भने मुख्यमन्त्री फेर्नुपर्ने दबाब दिएको बताइएको छ। उनीहरुले जसपाकै नेतृत्वमा सरकार रहे पनि मुख्यमन्त्री चाहिँ फेर्नुपर्ने माग गरेको बुझिएको छ।

जसपा अध्यक्ष यादव शुक्रबारदेखि जनकपुरधाममा रहेका छन्। उनले शुक्रबार राति मुख्यमन्त्री लालबाबु राउतसहित पूर्व-समाजवादीका मन्त्रीहरु विजय कुमार यादव, शैलेन्द्र साह र ज्ञानेन्द्र यादव संग शनिवार छलफल गरेका छन्।

शनिबार भएको बैठकमा पूर्व-राजपाबाट मन्त्री बनेका नवलकिशोर साह र रामनरेश यादवको समेत सहभागिता रहेको थियो।

अध्यक्ष यादवले सरकारको नीति तथा कार्यक्रम र बजेट पास गराउन कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहका एमालेलाई साथ लिने वातावरण तयार गरेका छन्। असार १ गते बजेट प्रस्तुत हुने अनिवार्य कार्यसूचि रहेको छ।

जसपाको संसदीय दलको विधान बन्दै

अर्कोतर्फ पूर्व-राजपा र सपाको एकीकरण भएर बनेर जसपा जुन पूर्ण रुपले एकीकरण नहुँदै विभाजनको अवस्थामा पुगेको भए पनि प्रदेशमा संसदीय दलको विधान छैन। सपा र राजपा एकीकृत भए पनि दलको संयुक्त बैठक कहिल्यै भएको छैन। प्रदेशसभामा दुवै दलका नेता र प्रमुख सचेतक छुट्टाछुट्टै रहेका छन्।

त्यसैले अहिले जसपामा रहेका पूर्व-राजपाका प्रदेशसभा सदस्यहरुलाई नियन्त्रण गर्न विधान बनाउन आवश्यक भएको हुँदा रातारात संसदीय दलको विधान तयारी गर्न लागिएको  बताइएको छ।

विधान तयारी गरी संसदीय दलको नेता पनि चयन गरिनेछ। साथै सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेटमा पूर्व-राजपाका सभासदहरुले असहयोग गरे विधानअनुसार कारबाही गर्न सहजताका लागि तत्काल विधान बनाउन लागेको हो। विधान तयार भएलगत्तै दलको बैठकबाट नेता चयन गरी प्रदेशसभालाई प्रमुख सचेतक, सचेतकबारे जानकारी दिइनेछ।

नीति तथा कार्यक्रम र बजेट पास गर्न पार्टीले ह्‍वीप लगाउन विधान आवश्यक रहेको जनाउँदै विधानविपरीत कार्य गर्नेलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सहज हुने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले बताए।

‘दलको विधान बनाउन ढिला भइसकेको थियो’ उनले भने, ‘विधान बनिसकेपछि संसदीय दलको कामकारबाही विधानअनुसार हुनेछ।’

कांग्रेस पनि सरकारमा जान बटमलाइनको तयारीमा

यता, कांग्रेस पनि सरकारमा सहभागी हुनको लागि प्रस्ताव आएपश्चात् लगातार छलफलमा जुटेको छ। कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले भने, ‘हामीले मुख्यमन्त्रीको लागि दाबी गरे पनि बटमलाइन तय गर्नको लागि आन्तरिक छलफल गरिरहेका छौं।’ उनले कांग्रेस नेतृत्वमा सरकार बनाउन आग्रह गरेको र मन्त्रालय छान्ने विषयमा छलफल हुन बाँकी रहेको बताए।

कांगेसले मुख्यमन्त्रीसहित ३ मन्त्रालयको माग गरेको बताइएको छ। यदि मुख्यमन्त्री नपाए पनि सरकारमा जानु परेको खण्डमा लालबाबु राउतलाई हटाएर अरूलाई दिनुपर्ने कांग्रेसलाई सभामुखसहित तीन मन्त्रालय दिनुपर्ने लाइनमा छलफल भइरहेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.