|

पर्वत : कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशबाट तीनवटा प्रतिकार्य टोली बनाएर काम गरिरहेको गण्डकी प्रदेश सरकारले अब संक्रमितहरुलाई नर्सहरुले फोन गरेर परामर्श दिने व्यवस्था गरेको छ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकाले स्वास्थ्यकर्मीको परामर्श चाहेको बेलामा नपाउँदा मनोवैज्ञानिक रुपमा कमजोर बन्दा संक्रमणसँग हार्नु परेको भन्दै त्यसो हुन नदिन ‘गण्डकी टेली नर्सिङ’ कार्यक्रम सुरु गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए।

‘होम आइसोलेसनमा रहेकाहरुको मनोबल उच्च बनाउन तथा उनीहरुले संक्रमणलाई जित्नका लागि अपनाउनुपर्ने विधिको विषयमा जानकारी दिन प्रदेशमा रहेको नर्सहरुको टोलीले सिधै फोन गरेर परामर्श दिने व्यवस्था मिलाइएको हो,’ उनले भने, ‘निर्देशनालयबाट केही दिन अगाडिबाटै टास्कफोर्स टोली जिल्लामा खटिएको छ। त्यो टोलीले एन्टिजिन परीक्षणसहित कोरोना नियन्त्रणका विभिन्न उपाय प्रयोग गरिरहेको छ। यो काममा नर्सहरुले टेलीफोन गरेर संक्रमणमाथि जित हासिल गर्न बल दिन्छन्।’

पोखरा नर्सिङ क्याम्पसका बिएस्सी र एमएस्सीका नर्सिङ विद्यार्थी, सिनियर नर्स, प्राध्यापकलगायतका १२६ जनाको टोलीले फोनमार्फत परामर्श दिन लागिएको हो। ‘टेली नर्सिङ’मा खटीएकाहरुले संक्रमितलाई दैनिक रुपमा फोन गर्दै उनीहरुको भावना बुझ्ने, आहरबिहार तथा स्वास्थ्य सुदृढ पार्न अपनाउन सकिने उपायबारे जानकारी दिने, समस्या परेमा जान सकिने नजिकैको कोरोना उपचार केन्द्र लगायत जानकारी दिने काम गर्नेछन्। त्योभन्दा बढी संक्रमितहरुलाई मनोपरामर्श दिएर आत्मबल बढाउने काम टोलीले गर्ने छ।

एक जना संक्रमितलाई फोन आएको पहिलो दिनमा सबै कुराको जानकारी लेनदेन गरेपछि पुनः दुई दिनपछि र सातौँ दिनमा प्रदेशबाट फोन जानेछ। तर कोही संक्रमितको अवस्था फेरबदल हुन सक्ने देखिएमा आवश्यकताअनुसार दैनिक वा दिनमा केही पटक पनि फोन गर्ने गरी काम थालिएको छ। त्यसका लागि निर्देशनालयले कोरोना सक्रिय अवस्थामा रहेर घरमै बसिरहेका संक्रमितहरुको फोन नम्बर सहितको नामावली टोलीलाई उपलब्ध गराएको छ।

प्रदेशले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरेको यो कामले संक्रमित भएर पनि अनभिज्ञ रहेकाहरुलाई सहज हुने छ। एक ठाउँमा घर भई अर्को ठाउँमा बसिरहेको संक्रमितलाई आफू रहेको ठाउँको स्वास्थ्य सेवामा थाहा नहुने भएकाले त्यस्तो अवस्थाका संक्रमितहरुलाई स्वास्थ्य सेवा पाउन सजिलो हुने प्रशिक्षक शर्मा बताउँछन्।

निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा हालसम्म कोरोना पोजेटीभ रहेको अवस्थामा मृत्यु भएकाहरुको संख्या आठ सय १७ पुगेको छ। कुल ४९ हजार ३८ जनामा संक्रमण रहेको पुष्टि भएकोमा तीमध्येका ४१ हजार ६६१ जनाले संक्रमणलाई जितेका छन्। प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ५६० रहेको छ। संक्रमण रहे नरहेको पत्ता लगाउन हालसम्म दुई लाख १२ हजार सात ४२ स्वाबको पिसिआर परीक्षण गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.