बेल्जियम र इंग्ल्याण्ड ठूला उपाधि दाबेदार

|

काठमाडाैं : युरोकप फुटबल प्रतियोगिताको १६ औँ संस्करण आजबाट सुरु हुँदै छ।

उद्घाटन खेलमा इटाली र टर्की प्रतिस्पर्धा गर्दैछन्। इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा आज राति पौने १ बजे यी दुई टोलीबीच भिडन्त हुनेछ। दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन्।

दुबै देशका मुख्य प्रशिक्षकले पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने बताइएका छन्। इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसीले उद्घाटन खेल कठिन हुने बताउका छन्।

उनले आफूहरुले जितको लागि खेल्ने बताएका छन्। 'टर्की राम्रो टिम हो, उनले भने, 'उद्घाटन खेल सधैं कठिन हुन्छ तर पनि हामी सुखद सुरुवात गर्न चाहन्छौँ।’

इतिहास पल्टाउने हो भने इटाली नै हाबी देखिएको छ। यी दुई टोलीबीच ११ पटक प्रतिस्पर्धा हुँदा अहिलेसम्म टर्कीले जित हासिल गर्न सकेको छैन। इटालीले ८ पटक जित्दा ३ खेल बराबरीमा सकिएको छ।

युरोकपमै ३ पटक इटालीलले टर्कीलाई हराएको हो। तर, इटालीविरुद्ध टर्की आफ्नो शक्ति देखाएर सनसनी मच्चाउन चाहन्छ। टर्कीका मुख्य प्रशिक्षक सेनोल गुनिसले टिम जितका लागि मैदान उत्रने बताएका छन्।

प्रतियोगिताको उद्घाटन खेल रंगशालामा हेर्न १६ हजार दर्शकलाई अनुमति दिइएको छ। युरोकप विभिन्न ११ देशका ११ सहरमा हुँदै छन्। युइएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने जनाएको छ। आगामी जुलाई ११ सम्म चल्ने युरोकपमा २४ टिमको सहभागिता छ।

फ्रान्स र बेल्जियम बलियो 

जारी संस्करणको युरोकप फुटबलको मुख्य दाबेदारका रुपमा फ्रान्स र बेल्जियमलाई हेरिएको छ। दुई–दुई पटकको विश्वकप र युरोकप जितेको फ्रान्सले पछिल्लो ६ म्याचमा कुनै पनि खेल हारेको छैन।

फ्रान्सले युक्रेनसँग १–१ गोल र वेल्ससँग गोलरहित बराबरी खेलेको छ भने कजाकस्तान, वेल्स, बोस्निया हर्जगोभिना र बुल्गेरियालाई हराएको छ। युरोकपको छनौटमा समेत फ्रान्सले माल्दोभा, आइसल्याण्ड, एण्डोरिया, अल्बानियालाई हराएको छ भने टर्कीसँग भने हार बेहोरेको छ।

समूह एफमा फ्रान्ससँगै हंगेरी, पोर्चुगल र जर्मनी छन्। अन्य समूहभन्दा यो समूह तुलनात्मक रुपमा कठिन समूह हो। विश्व वरीयतामा फ्रान्स दोस्रो, पोर्चुगल पाँचौ, जर्मनी १२ औँ तथा हंगेरी ३७ औँ स्थानमा रहेका छन्।

फ्रान्सका लागी जर्मनी र पोर्चुगल बलिया प्रतिद्वन्द्वीका रुपमा लिइएको छ। अहिलेको रफ्तार र खेलाडीहरु हेर्दा पनि फ्रान्सको सम्भावनालाई कसैले नकार्न सक्दैन।

अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि उपाधि दाबेदार छन्। विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारका रुपमा छन्। विश्व वरीयताको पहिलो स्थानमा रहेको बेल्जियम समूह बिमा रहेको छ।

सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारका रुपमा छन्। साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन दाबेदारको रुपमा छन्।

यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन्। युरोपका ५३ देशबीचको छनोटबाट २४ देशले युरोकपको अन्तिम चरणमा स्थान बनाएका छन्।

चार पल्टको विश्व विजेता जर्मनी र एक पटक विश्वकपको उपाधि चुमेको स्पेन युरोकपमा चौथो पल्ट उपाधि जित्ने रणनीतिमा छन् भने २ पटको विश्व विजेता फ्रान्स पनि युरोकपको उपाधि संख्या २ पुर्‍याउने ध्याउन्नमा छ।

तत्कालीन सोभियत संघभित्र रहेको रसियासँगै इटाली, चेक गणतन्त्र, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्कले यो संस्करणमा उपाधि संख्या डब्ल्याउने प्रयास गर्दैछन्।

चेक गणतन्त्र यसअघि चेकोस्लोभाकियाभित्र पर्दथ्यो। यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्। सन् २००४ को युरो विजेता ग्रीस भने यसपटक युरोकपमा स्थान बनाउन असफल रह्यो।

१६ संस्करण सम्मको युरोकपमा जर्मनी र स्पेनले ३–३ संस्करण जित्दा फ्रान्सले २ पटक उपाधि आफ्नो पक्षमा पारेको छ। फ्रान्स, इटाली, पोर्चुगल, नेदरल्याण्ड, डेनमार्क, ग्रिस, चेक गणतन्त्र र सोभियत संघले एक –एक पटक युरोकपको ट्रफी उचालेका छन्।

कुन टोली कुन समूहमा  

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.