|

डडेल्धुरा : निमार्णाधीन पोखरा–बेलापुर सडकका कारण खानेपानीको मुहान बगेको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ मा पर्ने ‘काटे–४, ५ गैरीजर–उपरकोट–सिन्दुली गाड’ खानेपानी योजना निमार्ण सम्पन्न नहुँदै सडक निर्माणका कारण बगेको हो।

खानेपानी डिभिजन कार्यालय डडेल्धुराको पञ्चवर्षीय योजनाअनुसार निमार्ण सम्पन्न भइरहेको योजना बगाएपछि कोटेली गाउँमा फेरि खानेपानीको समस्या भएको स्थानीय रामबहादुर भूलले बताए। 

उनले भने,‘बल्ल खानेपानी आएको थियो फेरि बन्द हुँदा गाउँ नै खानेपानी समस्यामा परेको छ।’ यहाँका नागरिक अहिले खोला तथा नाउलाको पानी प्रयोग गरिरहेका छन्।

पूर्वाधार विकास कार्यालय डडेल्धुराबाट निमार्ण भइरहेको पोखरा–बेलापुर सडकले मुहानसँगै पाइपलाइनसमेत बगाएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी धक्तिले बताए।

खानेपानी एक वर्ष पहिले नै घर घरमा पुगिसकेको थियो। केही घरमा धारा निमार्ण गर्न मात्र बाँकी छँदै मुहान र पाइपलाई नै बगाएपछि खानेपानीसँगै निमार्ण समेत पूर्णरूपमा अवरुद्ध भएको छ।

ठूलो खानेपानी योजनाबाट अहिले ६ सय घरपरिवार खानेपानी प्रयोग गरिरहेका थिए। जेठ २८ गते राति वर्षाले सडकको माटो मुहानमा आउँदा बगाएकाले सडक निमार्ण कम्पनी तथा पूर्वाधार कार्यालयले मर्मत गर्नुपर्ने डिभिजन खानेपानी कार्यालय डडेल्धुराका प्रमुख गोविन्द देवकोटाले बताए। 

उनकाअनुसार प्रमुख जिल्ला हरिप्रसाद घिमिरे तथा पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीसँग छलफल भएको र भत्केको तथा बगाएको संरचना निमार्ण गर्ने सहमति भएको छ।

उनले भने,‘चालु योजनामा हामीसँग बजेट छैन। त्यहाँ बजेट हाल्न पनि मिल्दैन। पहिले जस्तै सडकले हाम्रो काम बिगारेमा उसले बनाउने हो। हामी वा खानेपानीले सडक बिगारे खानेपानीले नै निमार्ण गर्ने संघको नीति थियो। त्यही अनुसार पूर्वाधार विकास कार्यालयले निमार्ण गर्ने भनेको छ।’

पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख खत्रीले सडकले भत्काएको मुहान र पाइपलाइन बनाउने बताए। ‘हामीले बनाउने भनेका छौं। पाइप र मुहान कति क्षति भएको छ, बनाउने भन्ने सहमति भएकाे छ,’ उनले भने।

विगतमा यस्ता सहमति भएपनि निमार्ण नगर्ने गरेको उपभोक्ताको गुनासो छ। यसै योजनाको पहिले पनि क्षति भएको र कुनै क्षेत्रमा मर्मत तथा पुनः निमार्णका लागि सहयोग नभएको उपभोक्ता समितिका अध्यक्ष धिक्तले बताए।

पानी सुचारु नहुँदा थप निमार्ण पनि ठप्प भएको छ। ८० प्रतिशत काम निमार्ण भइसकेको तर धारा निमार्ण गर्दा पानी आवश्यक हुने भएकाले काम रोक्नु परेको अध्यक्ष धिक्तको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.