नदी दोहनबारे सबैलाई जानकारी, उत्खनन रोक्ने हिम्मत कसैमा छैन

|

हेटौंडा : नियमनकारी निकायले करिब अढाइ महिनाअघि गरेको सहुलियतपूर्ण निर्णयको फाइदा लुट्दै हेटौंडाका व्यवसायीले हालसम्म पनि ‘स्टक’ का नाममा नदीजन्य पदार्थ उत्खनन जारी राखेका छन्।

यसले स्थानीय नदीको सतहमा गम्भीर प्रभाव परेर नजिकका बस्तीमा प्रभाव त परेको छ नै, त्यहाँ कार्यरत मजदुर पनि आफैंले खनेको विशाल खाल्डोमा आफैं पुरिने डर बढेको देखिन्छ।

दिउँसो निदाउने व्यवसायीले राति सुनसान समयको फाइदा उठाउँदै अवैध कार्य गर्दै आएका छन्। उनीहरू एउटै कागजले हजारौं सामान चलान गर्छन्। यति हुँदा पनि नियमनकारी निकायले यस्ता गतिविधि नियन्त्रणतर्फ चासो दिएको छैन।

दिनभरि उठ्ने सरोकारवाला रात्रिकालीन समयमा व्यवसायीहरूले खोला तथा नदी दोहन गरेको खबर सुनेर पनि कानमा तेल हालेर निदाउने गरेका छन्। रातिको ८ बजेपछि हेटौंडा आसपासका प्रायः खोलामा दैनिकजसो जेसिबी र एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको थाहाखबरले पत्ता लगाएको छ। 

​रातको मौका छोपेर नियमन निकायकै मिलेमत्तोमा ढुंगागिटी र बालुवा दैनिक चोरी निकासी हुने गरेको पाइएको हो। अँध्यारोमा नदीजन्य पदार्थ उत्खनन गर्न पुगेका क्रसर व्यवसायीलाई पहरा दिन प्रहरी नै पुग्ने गरेको स्रोतको दाबी छ।

निषेधाज्ञाले सुनसान बनेको हेटौंडा बजारमा दैनिक सयौं सवारी नदीजन्य पदार्थ बोकेर प्रहरी र अन्य सरोकारवालाको आँखै अगाडि हिँड्छ। तर स्टक सामान बोकेको भन्दै सरोकारवालाहरू आँखा चिम्लेर बस्ने गरेका छन्।

उसो त नदीजन्य पदार्थ उत्खननमा जनप्रतिनिधि नै संलग्न भएको कुरा पनि नआएको होइन। जनप्रतिनिधि र अन्य सरोकारवालाको मिलेमतोमै नदी दोहन भइहरेको आरोप पनि लाग्दै आएको छ।

यसको उदाहरणका लागि धेरै पर पुग्नै पर्दैन। हेटौंडानजिक मकवानपुरगढी गाउँपालिका पुगे हुन्छ। जहाँ अनुगमनका क्रममा अनुमतिभन्दा बढी परिमाणमा उत्खनन गरेको पाइएको छ।

आगामी आर्थिक वर्षदेखि नदी उत्खनन खुला गर्ने सरकारी निर्णय सार्वजनिक भएको बेला मकवानपुरगढी गाउँपालिकामा तोकिएभन्दा बढी नदी दोहन गरिएको दाबी गरिएको छ।

नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर–२, बासपानी बगरमै आयोजित पत्रकार सम्मेलनमा मकवानपुरगढीमा नदी उत्खनन तोकिएभन्दा बढी रहेको र पालिकाका कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा राजस्व व्यक्तिको खल्तीमा पुर्‍याइएको आरोप लगाएको छ।

चैत १६ गतेदेखि ३१ गतेसम्म सामरी खोलाका विभिन्न स्थानबाट उत्खनन गरिएका नदीजन्य पदार्थ जिल्लाबाट प्राप्त अनुमतिअनुसार एक लाख २५ हजार २ सय घनमिटर उत्खनन गर्ने भनिए पनि पालिकाले कर्मचारी र जनप्रतिनिधिको सेटिङमा एक लाख ३५ हजार घनमिटर उत्खनन भएको पाइएको नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तानले बताएका छन्।​

हातै प्रयोग गरेर नदी उत्खनन

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ , १३ र १४ गरि ३ वटा वडा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्सा वन्यजन्तु आरक्षणमातहत पर्दछ। जहाँको केही स्थानमा आरक्षणले विपद् न्यूनीकरणका लागि भन्दै नदीजन्य पदार्थ उत्खननको अनुमति दिएको छ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्वर १२ र ३ नवारीपारि पर्दछ। बीचको एउटा खोलाले मात्रै यी दुई वडालाई छुट्याउने गर्छ। जसले गर्दा खोलापारि रहेको १२ नम्वर वडाको अनुमति पत्र लिएर खोलावारि ३ नम्वर वडामा नदी दोहन गर्ने गरेको पाइएको छ।

३ नम्वर वडाको तिनताप्केमा करिब २० ठाउँमा २/२ जना मिलेर हातैले नदीजन्य पदार्थ उत्खनन गर्ने गर्छन्। बसामाडी प्रहरी चौकीबाट करिब एक सय मिटरको मात्रै दूरीमा रहेको सो बगर बगरजस्तो देखिँदैन।

नदीजन्य पदार्थ निकालेर बनेको खाल्डोले कुनै निर्माणस्थल जस्तै देखिएको छ। कोरोना महामारीले गर्दा हातमुख जोड्नै समस्या भएका परिवार नै बिहानै खोलामा नदी दोहन गर्न पुग्छन्।

दिनभरि हाते साबेल प्रयोग गरेर बगरबाट गिटी बालुवा निकालेर बेच्ने गरेको हेटौंडा ३ को पूर्णबहादुर राई बताउँछन्। ‘कोरोनाले गर्दा सबै बन्द भइहाल्यो, खानलाई समस्या भएर बसिरहेको थिए। यता बगरमा साथीहरू गिटी बालुवा खन्न आउँदा रहेछन्। त्यसैले अहिले म पनि आउने गरेको छु। एक टिप गिटी बालुवा खनियो भने टयाक्टरले आएर दुई हजारमा किनेर लैजान्छ,’ उनले भने।

राईजस्ता थुप्रैलाई तीनताप्केको बरगभरि नै बिहान बेलुका देख्न सकिन्छ। 

यसरी स्थानीयबासीले हातले खनेको गिटी बालुवा आवश्यकताअनुसार निर्माणस्थलमा बिक्री गर्ने गरेको नदीजन्य पदार्थ लिन आइपुगेका ट्याक्टर चालकले बताए। उनले आरक्षणबाट अनुमति लिएर आफूहरूले नदीजन्य पदार्थ ओसारपसार गरेको दाबी गरे। तर आरक्षणको मातहत हेटौंडा-३ तिनताप्केपारि १२ नम्वर वडा मात्रै पर्दछ। 

उता चुरे क्षेत्रमा पर्ने हेटौंडा-१५ को नयाँ बस्ती जाने बगरमा पनि नदीजन्य पदार्थ उत्खनन गर्नेहरू खसुक्क लुकेर काम गरिरहेका हुन्छन्। वरिपरि गहिरो खाल्डो बनाएका त्यहाँका बासिन्दा बीचमा कसैले पनि नदेख्नेगरि बसेर हाते साबेलको प्रयोग गरेर गिटी बालुवा उत्खनन गर्छन्।

उनीहरूले यसरी उत्खनन गरेको गिटी बालुवा लिन ट्याक्टर राति वा दिउँसै पनि सरोकारवालाको आँखा छलेर पुग्ने गरेको छ। निम्न आयस्तर भएका त्यहाँका विशेषगरि चेपाङ समुदायको महिलाहरू दैनिक गिटी बालुवा उत्खनन गरेर नै पेट पाल्दै आएका छन्। आर्यआर्जनका लागि कुनै विकल्प नदिएको स्थानीय निकायले नदी उत्खनन गरेको थाहा पाएर पनि मौन बस्ने गरेको उनीहरूको भनाइ छ। 

नदीजन्य व्यवस्थापनको अधिकार स्थानीय तहलाई हुन्छ : जिसस प्रमुख

नदीजन्य पदार्थ उत्खननको अनुगमन गर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले रात्रिकालिन समयमा हुने गरेको उत्खननबारे जानकारी आए पनि अनुगमन गर्न नसकेको बताए।

राति पनि उत्खनन हुने गरेको छ रे नि? भन्ने प्रश्नमै आक्रोशित बनेका खुलालले भने, 'अनि के अब हामी राति पनि अनुगमन गर्न हिँड्नू? कतिबेला कहाँ कहाँ झुक्क्याएर उत्खनन गरिहाल्छन्, जतिबेला पनि हामी पुग्न त सक्दैनौ नि,' केही नरम हुँदै उनले थपे, ‘हामीलाई पनि रातको समयमा उत्खनन हुन्छ भन्ने खबर आएको थियो। एक दुई पटक त हामी अनुगमन गर्न गएका पनि हौं। तर हामी जाने बेलामा भेटेनौं त्यसपछि राति अनुगमन गर्न पुगेको छैन।’

चैत १६ देखि ३१ गतेसम्म विपद् व्यवस्थापन समितिमार्फत उत्खनन नगरे भविष्यमा विपद् आइपर्न सक्ने ७ वटा स्थानीय तहमा नदीजन्य पदार्थ उत्खननका लागि अनुमति दिएको उनले बताए।

१५ दिनका लागि अनुमति दिएको सरोकारवालाले त्यसपछि कसले कति स्टक राखेको छ भन्ने अनुगमन नगर्दा अढाइ महिनासम्म पनि स्टककै नाममा नदीजन्य पदार्थ बिक्री वितरण भइरहेको छ।

खुलालले नदीजन्य पदार्थको व्यवस्थापन र कर उठाउनेजस्तो सबै काम स्थानीय तहले गर्ने भन्दै आफू पन्छिन खोजे। उनले भने, ‘नदीजन्य पदार्थको स्टक प्रमाणीकरण पनि स्थानीय तहले नै राखेको हुन्छ। हामीले नयाँ आर्थिक वर्ष लाग्ने बेलामा मात्रै हेर्ने हो। त्यसैले यसको सबै व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा नै हुन्छ।’

चालु आर्थिक वर्षको हालसम्म अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनबाट जिल्ला समन्वय समितिले १७ लाख ५० हजार रुपैयाँ राजश्व असुल गरेको समितिका सूचना अधिकारी भीम महर्जनले जानकारी दिए।

मकवानपुरका प्रमखु जिल्ला अधिकारी भरतमणि पाण्डेले नदीजन्य पदार्थको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय भए पनि यसको जिम्मेवारी जिल्ला समन्वय समिति हुने बताए।

समितिले नदीजन्य पदार्थ स्टकको बारेमा अनुगमन गर्ने काम गर्नुपर्ने सिडिओ पाैडेलले बताए। रात्रिकालीन उत्खनन हुनु भनेको चारी हुनु भन्दै यसको जिम्मेवारी स्थानीय प्रहरीलाई हुने भन्दै उनी पनि यसबाट पन्छिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.