|

चितवन : दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न चितवन लगायत विभिन्न जिल्लाहरूमा निषेधाज्ञा लगाइएको छ।

निषेधाज्ञामा परेका नागरिकलाई २० प्रतिशत छुटमा खाद्य सामग्री उपलब्ध गराउने सरकारको निर्णय अनुसार साल्ट ट्रेडिङ कर्पाेरेशन र खाद्य संस्थानले खाद्य सामग्री बिक्री वितरण गरिरहेका छन्।

चितवनको नारायणगढस्थित साल्ट ट्रेडिङ कर्पाेरेशनले २० प्रतिशत छुट दिएर चिनी, नुन, पिठो र भटमासको तेल बिक्री गरिरहेको छ। कर्पाेरेशनले जेठ २४ गतेदेखि नुन, पिठो र भटमासको तेल २० प्रतिशत छुटमा बिक्री गर्दै आएको हो।

जेठ २८ गते शुक्रबारदेखि चिनी पनि छुटमा बिक्री गर्न थालिएको छ।

२० प्रतिशत छुटमा चिनी समेत बिक्री हुन थालेपछि कर्पाेरेशनको बिक्री कक्षमा उपभोक्ताहरूको भीड बढेको छ। जेठ २७ अघि जम्मा १६ जनाले खाद्य सामग्री किनेकोमा जेठ २८ देखि चिनी पनि बिक्री हुन थालेपछि उपभोक्ताको चाप ह्वात्तै बढेको हो। 

बाहिर बजारमा चिनी प्रतिकिलो ९० रुपैयाँसम्म पर्न जान्छ। साल्ट ट्रेडिङले प्रतिकिलो ६३ रुपैयाँमा नै चिनी बिक्री गर्न थालेपछि उपभोक्ताहरू चिनी किन्न यहाँ पुग्ने गरेका छन्।

चिनी किन्न लाइनमा बसेको झण्डै दुई घण्टामा बल्ल पालो आएको सेवाग्राहीले गुनासो गरे। लामो लाइन देखेपछि त्यसै फर्किएका भरतपुर–२ क्षेत्रपुरका टेकराज पोखरेलले भने, ‘दुई घण्टामा बल्ल पालो आउने देखेपछि त्यसै फर्किएँ। अर्काे दिन बिहानै आउनुपर्ला।’

जेठ २८ गते शुक्रबार सय जना र आज (आइतबार) दुई सयभन्दा बढी उपभोक्ताले २० प्रतिशत छुटमा चिनी लगायतका खाद्य सामग्री किनेका साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, नारायणगढ शाखाका प्रमुख बुद्धिविनोद दाहालले बताए।

‘शुक्रबारदेखि चिनी पनि बिक्री हुन थालेपछि उपभोक्ताहरूको संख्या बढेको छ’, उनी भन्छन्, ‘नागरिकताको फोटोकपी हेरेर एक महिनामा एउटा परिवारले दुई किलो मात्रै चिनी पाउने व्यवस्था गरेका छौँ।’

एउटै परिवारका व्यक्तिले दुई किलो र महिनामा एक पटक भन्दा बढी छुटको खाद्य सामग्री नपाउन भनेर नागरिकताको फोटोकपी हेरेर बिक्री गरिएको उनी बताउँछन्।

यो पाँच जनासम्म सदस्य भएका परिवारको हकमा लागु हुन्छ। त्यो भन्दा बढी सदस्य हुनेले थप दुई किलो पाउँछन्। नागरिकताको फोटोकपीमा परिवारका सबै सदस्यको नाम लेखेर ल्याउनुपर्ने उनले बताए।

साल्ट ट्रेडिङले हप्ताको आइतबार, मंगलबार र बिहीबार बिहान ७ बजेदेखि ९ बजेसम्म (२ घण्टा) मात्रै खाद्य सामग्री बिक्री गर्छ। ‘९ बजे हामीले गेट बन्द गर्छाैँ। त्यसअघि लाइनमा बसिसक्नुभएकाले किन्न पाउनुहुन्छ’, उनले भने, ‘लाइन सकिँदा साढे १० कटिसकेको हुन्छ। धेरै समय खुला गर्दा सेवाग्राहीको चाप अत्यधिक हुने भएकाले दुई घण्टा मात्रै खोल्ने गरिएको हो।’

एउटा परिवारले एक महिनाका लागि नुन, चिनी र पिठो दुई/दुई किलो र भटमासको तेल पाउने उनले बताए। नुन प्रतिकिलो १६, चिनी प्रतिकिलो ६३, पिठो प्रतिकिलो ४४ र भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँमा बिक्री गरिने दाहालले बताए।

उनका अनुसार २० प्रतिशत छुट निषेधाज्ञा अवधिभरका लागि मात्रै हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.