|

पर्वत : चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण पर्वत विभिन्न ठाउँका बासिन्दा विस्थापनको खतरामा परेका छन्। वर्षासँगै बढेको बाढी र गलेको माटोले पहिरो आउने खतरा बढ्दा विभिन्न स्थानीय तहमा स–साना क्षति तथा विपद् बढ्दै गएका छन्।

महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ चार विस्थापित भएका छन्। उनका अनुसार वडा नं.–१ होश्राङदीको अर्गाउदीका पहल सिङ गुरुङको परिवार विस्थापित भएको छ। पाँच जना सदस्य रहेको उक्त परिवारलाई स्थानीय लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ।

वडा नं.–३ बालाकोटको हिरुखर्कमा तीन जना सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं.–५ लुंखु देउरालीको ढाडाखर्कमा पाँच जना परिवार सदस्य रहेको आस बहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ।

यस्तै, वडा नं.–२ भोक्सिङमा दुई घर, वडा नं.–५ लंखुका तीन घर र वडा नं.–४ पाखापानीका दुई घर गरी कुल सात घर बाढी पहिरोको उच्च जोखिममा रहेको अवस्था छ।

‘कहीँ पहिरोले कतै बाढीले घरहरु जोखिममा पारेको छ। कतिपय घरहरूमा पहिरो नै आएको अवस्था छ कतिपय घरमुनिबाट आएको पहिरोले घर नै झार्न सक्ने खतरा देखिएका सूचना आएका छन्’ प्रवक्ता ठकुरीले भने, ‘मनसुनको सुरुमै यति धेरै वर्षा भएको छ। भूकम्पले हल्लाएका घरहरूमा लगातारको वर्षाले माटो गलाउँदा पहिरोका जोखिम झनै बढेको छ।’

उता फलेवास नगरपालिका–३ शंकरपोखरीको रुग्दीमा पनि स्थानीय बुद्धि सागर रेग्मीको घर उच्च जोखिममा परेको छ। घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिरोका कारण घर बग्ने खतरामा परेको हो।

वर्षा भएको बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकोमा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताए।

वर्षाकै कारण विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि डुबानमा परेको छ। पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन्। लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह धेरै वर्ष यताकै सबैभन्दा उच्च तहमा पुगेपछि मंगलबार बिहान चार बजेदेखि ती घरहरु डुबानमा परेका हुन्। नदीको सतह बजारमा नै प्रवेश गरेपछि ती परिवार विस्थापित भएका हुन्। बाढीका कारण पवित्र शालिग्राम शिलामा निर्माण गरिएका विभिन्न भौतिक संरचनामा समेत आंशिक तथा पूर्ण क्षति पुगेको छ।

कालीगण्डकी नदीको सतह उर्लिएपछि कालीगण्डकी जलविद्युत ‘ए’ का सबै ढोकाहरू खोलिएका छन्।

ठाउँ ठाउँमा गएको पहिरो तथा बाढीका कारण जिल्लाका विभिन्न ठाउँहरूमा विद्युत् लाइनमा पनि क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जानकारी दिएको छ। प्रसारण तथा वितरण लाइनमा रूख ढलेर तथा पहिरो गएर खम्बाहरू ढल्नुका साथै तार पनि चुँडिएर क्षति पुगेको हो।

केन्द्रका अनुसार मोदी गाउँपालिका–१ भूकमा ३३ केभी लाइनमा, महाशिला गाउँपालिका–६ फलामखानीमा, वडा नं.–२ भोक्सिङमा ११ केभी लाइनको खम्बाहरू पहिरोले ढलाएको छ। यस्तै, बिहादी गाउँपालिकामा पनि विद्युतीय लाइनमा क्षति पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.