काठमाडाैं : १६ औँ संस्करणको युरो कप फुटबलमा आज राति बेल्जियमले डेनमार्कको सामना गर्दै छ।
आफ्नो पहिलो खेलमा फराकिलो जित निकालेको बेल्जियम आज उच्च मनोबलका साथ मैदान उत्रन आतुर छ। समूह ‘बी’ को शीर्ष स्थानमा रहेको बेल्जियमले गत आइतबार रुसविरुद्ध ३–० गोलको फराकिलो जित निकालेको थियो।
लगातार दोस्रो जितको खोजीमा रहेको बेल्जियमका लागि मुख्य खेलाडीका रुपमा केभिन डी ब्रुनो पनि आज डेनमार्कविरुद्ध मैदान उत्रनेछन्। चोटका कारण उनले यसअघि रुसविरुद्ध पहिलो खेल भने गुमाएका थिए।
म्यानचेस्टर सिटीका मिडफिल्डर ब्रुएनले चेल्सीविरुद्ध च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा चोट बोकेका थिए। उनी बेल्जियम टिमका उपकप्तानसमेत रहेका छन्।
डेनमार्क भने आजको खेल जित्नैपर्ने दबाबमा छ। पहिलो खेलमा फिनल्याण्डसँग १–० गोलले पराजित हुँदै समूहको पुछारमा पुगेको डेनमार्क आज पहिलो अंक जोड्न चाहन्छ।
डेनमार्कले आज पनि आफ्ना प्रमुख खेलाडी क्रिष्टियन एरिक्सनलाई मिस गर्नेछ। फिनल्याण्डसँगको खेलमा हृदयघात भएर मैदानमै अचेत भएपछि अहिले उनलाई टिममा राखिएको छैन।
यद्यपि हाल उनको अवस्था सुधार हुँदै गएको छ। डेनमार्क र बेल्जियमबीच हालसम्म भएका १५ खेलमा दुबैले समान ६/६ खेलमा जित निकाल्दा ३ खेल बराबरीमा सकिएको छ। बेल्जियम र डेनमार्कबीचको खेल कोपनहेगनमा राति पौने १० बजे सुरु हुनेछ।
यसअघि आज साँझ समूह ‘सी’ का युक्रेन र नर्थ म्यासेडोनिया मैदान उत्रनेछन्। यी दुवै टिम आज पहिलो जितको खोजीमा रहेका छन्। समूहको तेस्रो स्थानमा रहेको युक्रेनले यसअघि नेदरल्याण्डसँग ३–२ गोल अन्तरको हार बेहोरेको थियो। यस्तै नर्थ म्यासेडोनियाले अष्ट्रियासँग ३–१ गोलको पराजय बेहोरेको थियो।
म्यासेडोनियामा समूहको पुछारमा छ। नेसनल एरिनामा आज साँझ पौने ७ बजे हुने खेलमा युक्रेनले विंगर ओलेक्सान्डर जुब्कोभलाई गुमाउने छ।
नेदरल्यान्ड्सविरुद्ध खेलमा घाइते भएपछि उनलाई टिमबाहिर राखिएको छ। यद्यपि हेड टु हेडको आधारमा भने युक्रेन म्यासेडोनियाभन्दा केहि बलियो देखिएको छ। २०१६ को युरोकप छनोटमा यी दुई टिमबीच भएको दुई खेलमा दुबै खेल युक्रेनले जितेको थियो।
युरोकपअन्तर्गत आज राति हुने अन्तिम खेलमा समूह ‘सी’ कै नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ। यी दुवै टिम आज दोस्रो जित निकाल्ने योजनामा छन्।
यी दुई टिमबीचको आजको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। अष्ट्रियाले आफ्नो पहिलो खेलमा नर्थ म्यासेडोनिविरुद्ध ३–१ गोलको जित निकालेको थियो।
यस्तै नेदरल्याण्डले युक्रेनलाई ३–२ गोल अन्तरले पाखा लगाएको थियो। यी दुई टिमबीचको खेल राति पौने १ बजे नेदरल्याण्डस्को जोहन क्रुफ एरिनामा हुनेछ।
यी दुईबीच हालसम्म भएका १८ खेलमा नेदरल्याण्ड्सले ८ खेल जित्दा अष्ट्रियाले ६ खेल जितेको छ। अन्य ४ खेल बराबरीमा सकिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।