|

रुकुम पूर्व : राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका साँख खोलामा निर्माणाधीन पुल बाढीले भत्काएको छ। वडा नम्बर ४ को सोलावाङ र वडा नम्बर १२ को बैरागीठाँटीमा रहेको पुल सोमबार बिहान साढे ३ बजेतिर भत्किएको हो। 

३५ मिटर लम्बाइको पुलको सेटिङका सबै काम सकिएर आरसिसी ढलान भइरहेको थियो। पुलको बिम र स्ल्याब कामै नलाग्ने गरी भत्किएको छ। बिम र स्ल्याबको काम अब फेरि सुरुबाट गर्नुपर्ने भएको पुल निर्माण कम्पनीका कन्ट्याक्ट म्यानेजर हिरा लामाले बताए। पुल निर्माणको काम सूर्य इलाइट जेभीले गरिरहेको छ। पुल भत्किँदा करिब पाँच करोडको क्षति भएको लामाले दाबी गरे। 

‘पुलमा गाडी गुड्ने बनाउन करिब १०–१५ प्रतिशत काम मात्र बाँकी थियो,’ उनले भने, ‘असार मसान्तसम्म सक्ने गरी काम भइरहेको थियो।’ 

पहिलोपटकको सम्झौतअनुसार पुल गत वर्ष साउनमै सम्पन्न भइसक्नुपथ्र्यो। कोरोनालाई कारण देखाउँदै असारसम्मको म्याद थपिएको थियो। पुल भत्किएपछि अब थपिएको समयमा पनि काम नसकिने भएको छ।

विश्व बैंकको साढे नौ करोड सहयोगमा साँख खोला र सल्यानको पटारेमा पुल निर्माणको ठेक्का लागेको थियो। सल्यानको पटारेमा गत वर्ष नै पुल निर्माण सम्पन्न भइसकेको छ। साँख खोलाको निर्माणाधीन पुल बग्दा स्थानीयले जीर्ण बेलीब्रिजबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि लम्बिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.