|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको काम ६२ प्रतिशत सकिएको जनाएको छ। प्राधिकरणले निषेधाज्ञाको बेला पनि पुनर्निर्माणको कामलाई निरन्तरता दिइरहेकाे छ।

पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार अहिले धरहराको सवारीसाधन पार्किङ काम,संग्रहालय निर्माण र वालको काम भइरहेको छ।

‘धरहरा टावरको काम सकिसकेको छ,अहिले टावरभित्रको लिफ्ट बन्दै छ,७ वटा लिफ्टमा दोस्रो लिफ्ट हाल्ने काम सकिँदै छ,’उनले भने,‘हालसम्म ६२ प्रतिशत काम सकिएको छ,बाँकी काम धमाधम अहिले भइरहेको छ।’

उनका अनुसार अहिले ८० जना कामदारले पुनर्निर्माणको काम गरिरहेका छन्। बाँकी सबै काम आगामी मंसिरसम्ममा सम्पन्‍न गर्ने ठेक्का सम्झौता भएको र त्यही लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ।

‘मंसिरसम्ममा सबै काम सकाउने भन्ने छ,तर लकडाउनले भनेजस्तै काम गर्न सकिएको छैन,’मानन्धरले भने। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कामदारले काम गरिरहेको उनले सुनाए।​

धरहराको पुनर्निर्माणको काम नसकी उद्घाटन भने गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। सबै धरहराको काम नसकी सरकार उद्घाटन गर्न हतारिएका भन्दै यसको चौतर्फी विरोध पनि भएको थियो।

ऐतिहासिक धरहरा २०७२ सालमा आएको विनाशकारी भूकम्पले भत्काएको थियो।  क्षतिग्रस्त धरहरा प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते पुनर्निर्माणको शिलान्यास गरेका थिए। 

धरहरा निर्माणका लागि तीन अर्ब आठ करोड रुपैयाँ सम्झौतामा भएको छ। पुरानो धरहरा अगाडिको ४२.२ रोपनी क्षेत्रफलमा २२ तलाको धरहरा पुनर्निर्माण गरिएको छ। धरहरामा संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत बनाइने प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.