|

काठमाडाैं : नेपालमा फैलिएको कोरोना संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ४८ नमुनामध्ये ९ वटामा नयाँ म्युटेसन फेला परेको हो।

गत वैशाख २६ गते देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले देशभरबाट ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न गत जेठ २६ गते पठाईएको थियो।

ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ । सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन्) म्युटेसन भेटिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले यो म्युटेसन सबै उमेर समूहलाई संक्रामक रहेकोले बताए।

यसअघि बेलायती सञ्चारमाध्यमले नेपाल भेरियन्ट भनेर दाबी गरेको यहि म्युटेसन हो। हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कोरोना भाइरसका ३ भेरियन्ट (अल्फा,डेल्टा र कप्पा) पुष्टि भएको छ । कोरोना भाईरसले नयाँ नयाँ स्वरुप परिवर्तन गर्दै गइरहेको र नयाँ म्युटेसन अझै संक्रामक भएको भन्दै संक्रमण रोक्न सबै जिम्मेवार बनी संक्रमण रोक्न मन्त्रालयले अपिल गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.