|

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीचकोे वानडे त्रिकोणात्मक सिरिज जुलाई २० देखि ३० सम्म हुने क्रिकवजले जनाएको छ। सिरिजका लागि नेपाली टिमको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु हुँदै छ।

सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ। तर, पृथु बाँस्कोटा भने प्रशिक्षणमा सहभागी नहुने भएका छन्। पृथुको स्थानमा अर्का खेलाडीलाई मौका दिने तयारी क्यानको छ।

यो सिरिज स्कटल्याण्डको घरेलु मैदानमा आयोजना हुने तय थियो। तर, स्कटल्याण्डले कोरोना महामारीका कारण गर्न नसकिने जनाएपछि स्पेनमा हुन लागेको हो।

स्पेनमा नवनिर्मित एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानमा म्याचहरु आयोजना हुनेछन्। आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरीसम्म चल्ने छ।

सन् २०१९ देखि सुरु भएको विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपालले हालसम्म एउटा सिरिज मात्र खेलेको छ। नेपालले २०२० मा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो।

सो त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग हार्दा अमेरिकासँगको दुवै खेलमा भने जित हासिल गरेको थियो। नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ।

विश्वकप लिग–२ अन्तर्गत नेपालले अझै ३२ वटा खेलहरू खेल्न बाँकी छ। विश्वकप लिग–२ अंक तालिकाको शीर्ष–३ स्थानमा रहन सके नेपालले भारतमा आयोजना हुने सन् २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ।  विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ।

शीर्ष–३ स्थानमा पर्न असफल भए २०२२ विश्वकप छनोट प्लेअफमा नेपालले विश्वकप छनोट प्रतियोगिता पुग्ने अर्को मौका पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.