यसअघि १ सय ५५ पाडी वितरण

|

काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिकाले कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ। मंगलबार नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका ११ वटै वडाका कृषकलाई मौरीसहितको घार वितरवण गरेको हो।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरलाई मौरीपालनमा अब्बल नगर तथा कृषकलाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत् ५६ वटा मौरीसहितको घार वितरण गरेको जानकारी दिए। उनका अनुसार मौरीसहितको घार चालु आर्थिक बर्षको कार्यक्रमबाट वितरण गरेका हुन्। ‘नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत् चालु आ.व. मा ५६ वटा मौरीसहितको घार वितरण गरेको छ,’ उनले भने, ‘यो अभियानले आगामी वर्ष पनि यसले निरन्तरता पाउने छन्।’

नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले कृषकलाई मौरीपालनसम्वन्धी तालिमसहित घार वितरण गरिएको जानकारी दिए। उनले उत्पादित महको बजारीकरणको व्यवस्था नगरपालिकाले नै गर्ने भएकाले ढुक्कासँग व्यवसाय थाल्न कृषकहरुलाई अनुरोध गरे।

महसँगै मौरी र घार अन्य पालिका र जिल्ला लगायतमा समेत निर्यात गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ। कृषकहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं। १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले मौरीघार हस्तान्तरण गरेका थिए।

कृषक रामप्रसाद घिमरेले मौरीपालन तालिमबाट व्यवस्थित एवं व्यवसायिक मौरीपालन गर्नलाई हौसला मिलेको बताए। नगरपालिकालाई मौरीपालनका लागि पकेट क्षेत्र नै बनाउनुपर्ने तालिममा सहभागी कृषकहरुको भनाई छ।

१ सय ५५ पाडी वितरण, बाख्रा वितरण पनि छिट्टै

यसअघि नमोबुद्ध नगरपालिकाले विभिन्न वडाका कृषकलाई लागि१ सय ५५ वडा पाडी वितरण गरिसकेको छ। नगरपालिकाले कृषकलाई ८० प्रतिशत अनुदानमा वितरण गरेको थियो। चालु आर्थिक वर्षभित्र नै बाख्रा वितरण गरिने गरी तयारी गरिरहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले बाख्रासँगै कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (च्यापकटर) वितरण गरिने भएको छ। त्यस्तै, ५० प्रतिशत अनुदानमा मिनिटिलर, इलेक्ट्रिक पम्प, फलफूलको बिरुवा वितरण गर्न लागेका हुन्।

कृषि शाखा प्रमुख दाहालले पाडी, बाख्रालगायतको वितरण अभियानको सुरुवात भइसकेको जानकारी दिए। उनले यस वर्ष वितरण गरेकाबाट त्यसको प्रभावकारिता हेरेर आगामी बर्ष थप बजेटको व्यवस्था गर्ने नगरपालिकाको योजना रहेको बताए।

नमोबुद्ध–१० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले कृषिमै आत्मनिर्भर बनाउन सो अभियान थालिएको बताए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.