|

काठमाडौ :  गत मंगलबार बिहानै प्रेमलाल महर्जनको मोबाइलमा फोनको घण्टी बज्यो। फोन उठाउनेबित्तिकै एकजना सरकारी डाक्टरले भने सर कोरोनाको महामारी बढ्दै छ,खोप त लगाउनुभयो नि? यो सुन्नेबितिकै महर्जनले भने,‘खोप लगाउन पाएको छैन लौन सर के छ अवस्था बुझिदिनुपर्‍यो।’

तत्कालै ती डाक्टरले भनिहाले ,‘तपाईंजस्तो अधिकारकर्मीले पनि खोप पाउनुभएन? ४-५ हजार खर्चियो भने त बजारमै पाइन्छ नि।’

उनले सरकारी निकायबाटै खोप हराएको तथा  भारतीय नाकाबाट लुकिछिपी खोप आएको समाचार कतै पढेका थिए। तर, अवैध रूपमा बजारमै कोरोनाविरुद्धको खोप बिक्री भएको त्यो पनि सरकारी डाक्टरले नै भनेपछि उनलाई थप खुल्दुली मच्चियो। उनले अरू डाक्टरहरूसँग पनि सोधखोज गरे। ३ जनालाई सोध्दा उस्तै जवाफ पाए। त्यसपछि उनलाई बजारमा अवैध रूपले खोप बिक्री भएको हो भन्न कठिन भएन। महर्जन   अधिकारकर्मी हुन्। 

थाहा खबरसँग कुरा गर्दै महर्जनले भने,‘कुरा म एकजनाले खोप लगाउने मात्र होइन ,यसरी अवैध रूपमा बिक्री  खोज वितरण गर्नेलाई   सरकारले अनुसन्धान गरी कारबाही  गर्नुपर्छ।’ कोरोनाविरुद्धको खोपमा बजारमा अन्य सामान जसरी बिक्री गरेको थाहा पाएपछि  राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले  आइतबार विज्ञप्ति नै सार्वजनिक  गरेका छन्।   गत वर्षदेखि विश्वभर महामारीको रुपमा फैलिइएको कोरोना भाइरसका कारण  ४० लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। 

नेपालमा पनि करिब ९ हजार मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।  खोपको हाहाकार चलिरहेको छ।  पहिलो डोज खोप लगाएका दोस्रा डोजको पर्खाइमा रहेका छन्।  नेपाललाई कुन देशले  कति खोप सहयोग गर्ला  भनेर  आस गर्नेपर्ने अवस्था छ।

यस्तो अवस्थामा बजारमा आएका खोपको विषयमा सरकारले ध्यान दिनुपर्ने मञ्चका अध्यक्ष महर्जनको भनाइ छ। 

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेर पूर्वी नाकाबाट काठमाडौंलगायतका शहरी क्षेत्रहरुमा ल्याई अवैध रुपमा कोभिशिल्ड खोप भन्दै लुकीछिपी ३ हजार देखि ५ हजारसम्ममा बिक्री वितरण भइरहेको गोप्य सूचना केही चिकित्सकहरुले दिएको बताएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘सरकार संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोभिशिल्ड बजारमा बिक्री भइरहेको समाचारलाई विश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगताका कमि देखिएको छ।’

मञ्चले जनताको जनस्वास्थ्य माथि खोलवाड गर्दै यस्तो गम्भिर प्रकृतिको क्रियाकलापको सम्बन्धमा ध्यानाकर्षण गर्दै तत्काल यस विषयमा छानविन गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ। 

    ​

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.