|

नवलपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । 

सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढीले चार वटा बगाएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएरातिदेखि नै अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि नै राजमार्ग अवरुद्ध भएको छ।

राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।

अहिले पनि पानी परिरहेका कारण डाइभर्सन पुनःनिर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । सडकदेखि उत्तरतर्फको भागसमेत बाढीले डुबाएपछि त्यहाँको पानीको सतह नघटेसम्म डाइभर्सन बनाउन कठिन हुने प्रहरीको अनुमान छ।

राजमार्ग फराकिलो पार्ने क्रममा गैंडाकोट र भेडाबारीबीचको जङ्गलमा पुराना पुल भत्काएर चारवटा डाइभर्सन बनाइएको  थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.