|

विराटनगर : नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री कार्यालयको नाममा जनताको पैसा दुरुपयोग भइरहेको भन्दै आक्रोश पोखेका छन् ।

बिहीबार प्रदेश १ को प्रदेशसभा  बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक कार्कीले संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीका लागि काठमाडौं गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएको भए पनि छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँ खर्च गर्ने गरेको बताए।

‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेर वर्षमा एकपटक पनि नजाने, उनले भने ‘तर, काठमाडौंमा मोज मस्ती गर्नका लागि जनताको पैसा खर्च गर्ने? त्यो जरुरी छैन भन्ने बुझ्नुपर्छ।’

नेपाली कांग्रेस माथि देशका धेरै कुरा बेचेको आरोप लगाउनेहरू रातारात वायुसेवा निगम बिक्री गरेको विषयमा नबोलेको कार्कीको आरोप थियो।

उनले सरकारले बिचौलिया र दलालहरूलाई संरक्षण गरेको आरोप लगाउँदै कोशी टप्पुको उकास जमिन विगतमा जुट मिलको शेयर हिनामिना गर्ने निलहरि काफ्लेलाई लिजमा दिएको घटनाको निन्दा गरे। यती, ओम्नी, विराटनगर जुटमिल हुँदै कोशीटप्पुको जमिन माथि समेत दलालहरूको हालीमुहाली भएको भन्दै वर्तमान सरकार नै सेटिङवालाले चलाएको आरोप कार्कीले लगाए।

प्रमुख सचेतक कार्कीले सरकारले बनाएको कोशी कोभिड अस्पताल लामो समयदेखि बन्द रहेको र नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई सरकारले बनाएको भन्दै सरकारले जनतालाई र सांसदहरुलाई समेत ढाँट्ने गरेको आरोप लगाए।

कोभिडको लहर सकिन लाग्यो भनेर संघीय सरकारले निजी अस्पतालहरुमा उपचार बन्द गरेका कारण संक्रमितहरुको उपचार प्रभावित भएको र अहिले दिनहुँ संक्रमणको दर बढिरहेको छ। ‘उनले प्रश्न गरे, ‘सरकराले किन जतिखेर पनि झुठो कुरा मात्र गर्छ? किन संसदलाई झुठ बोल्ने थलो बनाउँछ?’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.