|

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले  वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति कुलपति प्रधानमन्त्री अझै किन मौन? भन्दै आपत्ति जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिष्ठानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले बिषयलाई गम्भीरतापूर्वक लिएर समाधान पहल नगरेकोमा आपत्ति जनाएका हुन्।

शर्माले एक विज्ञप्ति जारी गरि प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी रहेको जनाएका छन्।  

'प्रधानमन्त्रीको जिम्मेवारी भित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुइमत छैन। कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्छ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ', जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिष्ठानभित्र अनेकन बेथिति र अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक भएका विषयलाई ढाकछोप होइन त्यसको आवश्यक उपचार जरुरी रहेको पार्टीले जनाएको छ।

 'प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरूको भावनामा चोट पुर्‍याएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न। अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरूसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गर्नुपर्छ', विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.