|

जनकपुरधाम : उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा ४ दिनदेखि बन्धक सुत्केरी घर फर्किएकी छन्। 

यसबारे थाहाखबरले आजै दिउँसो उपचार खर्च तिर्न नसक्दा जुम्ल्याहा शिशुसहित सुत्केरी अस्पतालमा बन्धक शीर्षकमा समाचार प्रकाशित गरेको थियो। 

जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन ४ दिनदेखि अस्पतालको उपचार खर्च तिर्न नसक्दा बन्धक बनेकी थिइन्।

व्यथा लागेपछि गएको असार १७ गते खातुनलाई अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरी एक छोरा र एक छोरी (जुम्ल्याहा बच्चा) जन्म दिएकी बेगमलाई असार २१ गते नै अस्पतालले डिस्चार्जको कागज थमाएको थियो। तर अस्पताललाई १ लाख १० हजार रुपैयाँ उपचार खर्च बुझाउन ४ दिनदेखि बन्धक बनेकी थिइन्।

ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका उनका श्रीमान् ३१ वर्षीय मोहम्मद समीर नदाफले श्रीमती र नवजात शिशुहरूलाई घर ल्याउन तिर्नुपर्ने अस्पतालको खर्च जुटाउन सकेका थिएनन्। ४/५ दिनदेखि गाउँमा चन्दा संकलन गर्दै थिए।

एनआइसियुमा राखेर नवजात शिशुको उपचार गर्नुपरेको थियो। २ दिनपछि अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट बञ्चित गरेको थियो। बेगमकी ३१ वर्षीय श्रीमान् समीरले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजिरहेका थिए। तर पूरा रकम व्यवस्था गर्न सकेका थिएनन्।

सोही क्रममा आज बिहान समीर थाहाखबरको सम्पर्कमा आएका थिए। समाचार प्रकाशित भएको एक घण्टा नबित्दै समीरलाई सहयोग गर्ने मनकारीहरूले पहल गरेका थिए। ​

समीरले थाहखबरसँग भने, ‘तपाईंलाई भेटेर आएको दुई तीन घण्टापछि देशभरिबाट सहयोगका फोनहरू आउन थाले। प्रहरी प्रशासनले समेत अस्पतालमा आएर सबै कुरा बुझेर तपाईंहरूले केही गर्नु पर्दैन। आफ्नो श्रीमती र बच्चाहरूलाई लिएर जानुस् भने अनि एम्बुलेन्समा राखेर घर पठाइदिए।’ यसमा सिरहाका प्रजिअ प्रदीपराज कंडेलको बिशेष सक्रियता रहेको थियो।

समीरले अस्पताललाई तिर्नुपर्ने पछिको ६० हजार आफूहरूलाई तिर्नु नपरेको केवल औषधि पसलको १० हजार तिरेको र अहिले एम्बुलेन्समा श्रीमती र बच्चा लिएर आएको १ हजार मात्र तिर्नुपरेको बताए।

उनले थपे, ‘घरको कोही पनि सदस्य ४/५ रातदेखि राम्रोसँग निदाउन सकेको थिएनौं, कहाँबाट पैसाको जोहो हुन्छ र श्रीमती र बच्चाहरूलाई घरमा ल्याउन सक्छौं भनेर चिन्ताले मात्र सताएको थियो। आज हामी सबैलाई मस्त निन्द्रा आउँछ।’

दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका समीरको न आफ्नो घर छ र न त काम। यस परिवारले धेरै दिनदेखि कोरोनाले भएको लकडाउनका कारण काम नपाएर छाक टार्न सकेको थिएन। यस्तो बेलामा अस्पतालको उपचार खर्च जुटाउन परिवारलाई निकै सकस भएको थियो।

उपचार खर्च तिरेर आफ्नी श्रीमती र नवजात शिशुहरू घर ल्याउन भनी उनले  चार/पाँच दिनदेखि गाउँमा चन्दा संकलन गरिरहेका थिए। उता अस्पताललाई तिर्नुपर्ने बिल बढेको बढ्यै थियो। यता बेगमको श्रीमान समीर भने पैसाको खोजीमा गाउँमा भौँतारिरहेका थिए।

शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करिब करिब ५० हजार रुपैयाँ उपचारमा लगाएका थिए। घर आइसकेपछि समीरले भने, ‘बच्चा र आमाको स्वास्थ्य अवस्था ठीक छ। अब आमा र बच्चाको हेरविचार गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.